६ आश्विन २०८३, मंगलवार
दशैं सकिए लगत्तै बाँकेका किसान धान काट्न व्यस्त

धान उत्पादन राम्रो हुने देखिएपछि नरैनापुरका किसान खुशी


  • टाइम्स संवाददाता

  • १२ कार्तिक २०८०, आईतवार १७:४२

नेपालगञ्ज : हिन्दुहरुको महान् पर्व दसैँ सकिएलगत्तै बाँकेका अधिकांश किसान धान काट्ने काममा व्यस्त भएका छन् । कृषि ज्ञान केन्द्र नेपालगञ्जका अनुसार अहिले जिल्लाका विभिन्न स्थानका अधिकांश किसान बिहानदेखि बेलुकासम्म धान काट्न जुटेका छन् ।

कतिपय किसानले दसैँअघि नै काट्ने बेला भएको धान समेत नकाटी दसैँ पर्वमा रमाएका थिए, अहिले उनीहरुलाई काट्न भ्याइनभ्याई छ । कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकील अहमद खाँले दसैंमा रमाएका किसानहरु अहिले धान काट्न खेतबारीमा जुटेको जनाउँदै अहिले धान काट्ने उचित समय भएको बताए ।

उनले धेरै किसानलाई अहिले कतै पानी परेर वर्ष दिनभरि खाने बाली बिगार्ने डरले चिन्ता लागे पनि मौसमविद्हरूले अबका केही दिन पानी पर्ने सम्भावना नरहेको जनाएकाले ढुक्कसँग धान काट्न किसानलाई सुझाव दिइएको बताए ।

प्रमुख खाँले भने, ‘मौसमविदका अनुसार अबका केही दिन पानी पर्ने सम्भावना छैन, त्यसैले अहिले किसानले ढुक्कले धान काटेर थन्क्याउँदा हुन्छ भन्ने सुझाव दिएका छौं ।’

कृषि ज्ञान केन्द्र नेपालगञ्जका अनुसार यस पटक केही ढिला सुरु भए पनि समयमै रोपाइँ सम्पन्न भएको र वीचमा हानी गर्ने पानी नपरेकाले बाँके र बर्दिया दुबै जिल्लामा उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख खाँले गत वर्ष र त्ससको अघिल्लो वर्ष पनि धान तयार हुनै लागेका बेला बर्षा भएर ठूलो क्षति भए पनि यस पटक यस्तो नभएकाले उत्पादन राम्रो हुने आशामा किसान बसेको बताए ।

राप्तीपारी नरैनापुरका किसान अरुण यादवले गत वर्ष सुख्खा परेकोमा यस पटक समयमै वर्षा भएकाले धान उत्पादन राम्रो भएको जनाउँदै अहिले काट्न भ्याइनभ्याई रहेको बताए ।

उनले धान उत्पादन राम्रो हुने देखिएपछि नरैनापुरका किसान खुशी देखिएको पनि बताए । उता, सबैभन्दा पहिले रोपाइ गरेका खजुरा, कोहलपुर, बैजनाथ र डुडुवाका केही किसानले धान काटिसकेका छन् भने अधिकांश अहिले काट्न व्यस्त छन् ।

Nabintech