४ जेष्ठ २०८१, शुक्रबार
जाजरकोट भुकम्प अपडेट: मृत्युको संख्या स्थिर रहदा घाईतेको संख्यामा बृद्धि

उपचाररत घाइते मध्ये ५ जनाको सफल अपरेसन सम्पन्न


  • टाइम्स संवाददाता

  • १९ कार्तिक २०८०, आईतवार ०७:०४

नेपालगञ्ज:जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या हिजको तुलनामा स्थिर रहेपनि घाइते हुनेहरूको सङ्ख्या भने बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् ।

यता भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् । घाईतेहरुको स्थानिय अस्पताल, सुर्खेत, नेपालगञ्ज र काठमाण्डौमा उपचार भईरहेको छ ।

गत राति थप ६ जनालाई उपचारका लागि बाँके ल्याईएपछि अब बाँकेमा उपचार गराईरहेकाहरुको संख्या ३९ पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

राति एम्बुलेन्स मार्फत ल्याईएकाहरुमा २ जना भेरी नगरपालिका जाजरकोटका र ४ जना सानिभेरी रुकुमका रहेका छन । हाल सम्म बांके जिल्लामा उपचारका लागि ल्याइएका घाइतेको संख्या ३९ पुगेको छ । उपचाररत घाइते मध्ये ३७ जनाको डेडिकेटेड अस्पताल बनाईएको  भेरी अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ भने १ जनाको शिक्षण अस्पताल कोहलपुर मेडिकलमा उपचार भईरहेको छ । एक जनाको शनिवार नै मृत्यु मृत्यु भईसकेको छ ।

कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको १ जना घाइतेलाई पनि आजै डेडिकेटेड अस्पताल भेरी मै ल्याउने तयारि गरिएको जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको छ । उपचाररत घाइते मध्ये ५ जनाको सफल अपरेसन सम्पन्न भएको छ ।
हाल बाँकेमा उपचारका क्रममा रहेका ३८ जनामा भेरी अस्पतालमा ३७ र कोहलपुरमा १ जना रहेका घाइते बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त छ ।

अस्पताल आइपुग्नु अघि नै मृत्यु भैसकेका १ जनाको सव आज बिहान ७ बजे नलगाड १, जाजरकोट पठाउने ब्यबस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

Nabintech