३० बैशाख २०८१, आईतवार
भुकम्प पिडित महिलाको पेटबाट निकालियो मृत शिशु

  • टाइम्स संवाददाता

  • २० कार्तिक २०८०, सोमबार ११:१०

नेपालगन्ज,बाँके: जाजरकोट भूकम्पमा परि भेरी अस्पतालमा उपचाररत घाइतेहरू मध्ये १ जना महिलाको पेटभित्र मरेको शिशुलाई शल्यक्रिया गरी निकालिएको छ । भेरी अस्पतालमा अहिलेसम्म सात जना घाइतेको अपरेशन गरिएको छ । घाइते भएकामध्ये ४१ जनाको भेरी अस्पतालमा उपचार चलिरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । हालसम्म ४३ जना भर्ना भएकोमा एक जनाको मृत्यु भएको छ भने एक जना डिष्चार्ज भएका छन् ।

एक जनाको आइसियुमा उपचार भइरहेको जिल्ला आपतकालीन कार्यालय सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए। पहिले सिकिस्त भए पनि हाल सुधारोन्मुख घाइतेको सङ्ख्या दुई र सामान्य सुधारोन्मुख घाइतेको सङ्ख्या ३९ रहेको श्रेष्ठले जानकारी दिएका छन। पछिल्लो १२ घण्टाभित्र चार जना घाइते भेरी अस्पतालमा थपिएका छन् भने एक जना उपचारपछि घर फर्किएको अस्पताल श्रोतले जनाएको छ । आज सोमवार बिहानसम्म भेरीमा २३ महिला र १८ पुरुषको उपचार भइरहेको छ । यी मध्ये जाजरकोटका २७, रुकुम पश्चिमका १३ तथा बाँके र सल्यानका १/१ जना रहेका छन् ।

Nabintech