५ जेष्ठ २०८१, शनिबार
टिकटक बन्दमा बहाना एउटा, भित्री उद्देश्य अर्कै

सामाजिक सदभाव बिग्रिएको मान्ने हो भने फेसबुक, युटुब र टुइटर जस्ता एपले चाहिँ के गरिरहेको छ ?


  • टाइम्स संवाददाता

  • २७ कार्तिक २०८०, सोमबार १८:२८

काठमाडौं: रहस्यमय ढंगले प्रचण्ड सरकारले टिकटक एप प्रतिवन्धित गरेको छ । टिकटकलाई प्रतिवन्ध लगाइनुमा ठूलो षडयन्त्र र वैदेशिक कारण रहेको बुझिन्छ । आम जनता तिहार मनाउन व्यस्त भएको मौका छोपेर प्रचण्ड सरकारले टिकटक प्रतिवन्धको निर्णय गरेको हो ।

नेपालमा सबैभन्दा धेरै मानिसले प्रयोग गर्ने एप मध्ये टिकटक अग्रणी छ । प्रतिभा देखाउने, विचार राख्ने र सन्देश प्रवाह गर्ने मामिलामा नेपालमा भिडियो सेयरिङ एप टिकटक अब्बल मानिन्छ । सर्वसाधारणले विचार राख्ने सबैभन्दा प्रभावकारी प्लेटफर्म टिकटक बनेको छ । यस्तो एपलाई प्रतिवन्ध लगाउने निर्णय सरकारले किन गर्यो ? प्रश्न उठिरहेको छ ।

सरकारले अत्यन्तै फितलो र हास्यास्पद तर्क दिएर टिकटक प्रतिवन्धित गरेको छ । मन्त्रिपरिषदको आजको बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले सामाजिक सद्भाव विथोल्न टिकटक प्रयोग भएकाले बन्द गर्ने निर्णय गरिएको बताउनुभयो । मन्त्री रेखाको अर्को भनाई झन् उदेकलाग्दो छ । टिकटकले नेपालको पारिवारिक संरचना र सामाजिक सम्बन्ध समेत विगारेको रेखाले बताउनुभयो ।

सत्य के हो ? 

अहिले नेपालमा सामाजिक धार्मिक सदभाव विथोल्ने काममा सरकारको नेतृत्व गर्ने पुष्पकमल दाहाल प्रचण्ड, उहाँको सरकार र माओवादी पार्टी कम्मर कसेर लागिरहेको देखिन्छ । जातीय धार्मिक सदभाव विथोल्न प्रचण्डले वर्षाैंदेखि मेहेनत गर्दै आउनुभएको छ । देशमा विग्रह सिर्जना भयो भने मात्र आफ्नो राजनीति फस्टाउँछ भन्ने प्रचण्डको रणनीति कसैबाट छिपेको छैन । सामाजिक सदभाव बिगार्ने आफू तर दोष टिकटकलाई दिने प्रचण्ड सरकारको नीति अनौठो र अस्वाभाविक देखिएको छ ।

टिकटकका कारण सामाजिक सदभाव बिग्रिएको मान्ने हो भने फेसबुक, युटुब र टुइटर जस्ता एपले चाहिँ के गरिरहेको छ भन्ने प्रश्न उठ्छ । अहिले देशमा खासगरी युटुब मार्फत् ठूलो आतंक सिर्जना गरिँदैछ । सदभाव बिगार्ने र हिँसा भड्काउने खालका सामग्री टिकटकमा भन्दा फेसबुक र युटुबमा धेरै पाइन्छ । तैपनि सरकारले टिकटकलाई नै किन टार्गेट गरेको हो ? किन टिकटकलाई मात्र प्रतिवन्धको निर्णय गरेको हो ? प्रश्न उठिरहेको छ ।

वैदेशिक कारण

टिकटक एपले विश्वव्यापी तहल्का मच्चाइरहेको छ । विश्वव्यापी रुपमा पश्चिमा मुलुकका एपहरुको साम्राज्य छ । यस्तो अवस्थामा एउटा चिनियाँ कम्पनीले टिकटक एप ल्यायो । टिकटकले पश्चिमी मुलुकहरुका एपलाई पनि पछाडि पारिदियो । ठूलो मात्रामा व्यापार पनि कब्जा गरिदियो । त्यसपछि चीनका प्रतिस्पर्धी तथा प्रतिद्धन्दी देशहरुले टिकटकको विरोध गर्न थाले । त्यस क्रममा अमेरिका, वेलायत सहित कैयन पश्चिमा मुलुकहरुले टिकटकमा प्रतिवन्ध लगाइसकेका छन् ।

सन् २०२० मा भारत र चीन बीच गलवान सीमामा द्धन्द भएपछि भारतले कैयन चिनियाँ एपहरुलाई प्रतिवन्ध लगायो । त्यसमध्ये एक टिकटक पनि थियो । अमेरिका सहितका पश्चिमा मुलुकहरुले विश्वभरी चिनियाँ एपहरुलाई प्रतिवन्ध लगाउन दवाब दिइरहेका छन् । नेपाललाई पनि टिकटक प्रतिवन्धित गर्न दवाब थियो ।  नेपालमा चिनियाँ एपहरु, विशेषगरी टिकटक प्रतिवन्धित गर्न भारतले पनि दवाब दिँदै आएको थियो ।

गत महिना परराष्ट मन्त्री एनपी साउन अमेरिका भ्रमणबाट फर्कनासाथ टिकटक प्रतिवन्धको तयारी थालिएको थियो । अमेरिका र भारतलाई रिझाउन प्रचण्ड सरकारले टिकटक प्रतिवन्धित गरेको प्रष्ट देखिन्छ ।

नेपाललाई असंलग्न विदेश नीतिबाट बाहिर ल्याएर अमेरिका भारतको कित्तामा उभ्याउने प्रयास भइरहेको छ । प्रचण्ड सरकारले असंलग्नताको नीति त्याग्दै जाने र अमेरिका भारत गठवन्धनमा पस्दै जाने रणनीति अपनाइरहेको छ । चीनलाई घेर्दै जाने अमेरिकी नीति अन्तर्गत नेपाललाई भारत र अमेरिकाले चीन विरोधी कित्तामा तानिरहेका छन् । प्रधानमन्त्री प्रचण्ड पनि नेपाललाई चीन विरोधी तथा भारत अमेरिका पक्षधर देश बनाउन प्रयास गरिरहनुभएको छ । यही रणनीतिमा उभिएर प्रचण्ड सरकारले टिकटकलाई प्रतिवन्ध लगाएको हो ।

सांसद् भगवती न्यौपानेको भनाई छ्, सदभाव बिगार्ने एप बन्द गर्ने हो भने अमेरिकाको फेसबुक, टुइटर र युटुब पहिले बन्द गर्नुपर्छ अनि मात्र टिकटक बन्द गर्नुपर्छ । चिनियाँ टिकटक बन्द गर्ने तर समाज भाँड्ने अमेरिकी एपहरु खुल्ला गर्नु भनेको नेपालले पक्षपात गर्नु हो ।

Nabintech