१२ श्रावण २०८१, शनिबार
बागेश्वरीमा छटको रौनक, उदाउँदो सूर्यलाई अर्घ्य

  • नविन गिरी

  • ४ मंसिर २०८०, सोमबार ०८:४६

नेपालगन्ज: नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरमा अवस्थित तलाउमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर धुमधामका साथ छठ पर्व मनाइएको छ । मुख्य छठ पूजा स्थल बागेश्वरी मन्दिर तलाउमा ठूलो सङ्ख्यामा भक्तजन उपस्थित भएर सूर्यको उपासना गरेका छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समापन भएको छ ।

आज बिहान ब्रतालुले उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । सूर्य उपासनाको पर्व छठका लागि मन्दिर र तलाउ क्षेत्र सिँगारिएको थियो । यो तलाउ यहाँको मुख्य छठ पूजा स्थल हो । यहाँ छठको विशेष रौनक हुन्छ ।

सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु हुने भनिए पनि एक दिन पूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरो सहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तु खान छाडेर ब्रतालुले छठको तयारी गर्ने चलन छ । षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु हुन्छ ।

चार दिनसम्म मनाइने छठको पहिलो दिन व्रतालु नुहाएर चोखो हुन्छन् र व्रत बस्ने सङ्कल्प गर्छन् । यसलाई ‘नहाय-खाय’ भनिन्छ । दोस्रो दिन उपवास बसी साँझ चन्द्रमालाई साक्षी राखेर सूर्यदेवलाई आह्वान गरिन्छ । त्यसलाई खरनाका रुपमा मनाउने गरिन्छ । तेस्रो दिन विभिन्न किसिमका परिकार घरमै बनाएर साँझ पवित्र जलाशयमा गएर पूजाआजा गर्दै अस्ताउँदो सूर्यको अर्घ्य दिने चलन छ । अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समापन हुन्छ ।

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठमा सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ ।

Nabintech