२१ बैशाख २०८१, शुक्रबार
बाँकेको गौघाट पुगे भारतबाट आएका तीन मुर्रा राँगा

३० घण्टाको यात्रापछि यहाँस्थित जमुनाह नाका पुगेका थिए मुर्रा राँगा


  • टाइम्स संवाददाता

  • ७ मंसिर २०८०, बिहीबार १८:३६

नेपालगन्ज: भारत सरकारले नेपाललाई उपहार दिएको मुर्रा जातको राँगालाई विहीबार भारतीय अधिकारीले नेपालका अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रीय भैंस अनुसन्धान संस्थानका वरिष्ठ पशु चिकित्सक डा. राजेश कुमारले राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय काठमाडौंका प्रमुख माधव अर्याललाई नेपालगन्जस्थित पशु क्वारेन्टाइन चेकपोष्ट अन्तर्गतको होल्डिङयाडमा विहीबार मुर्रा राँगा हस्तान्तरण गर्नुभयो ।

बुधवार अपरान्ह ३ बजे रुपैडिहास्थित भारतीय कस्टममा राँगा लोड गरेर पुगेका ट्रकलाई विभिन्न कागजपत्र नभएको भन्दै साढे चार घण्टासम्म रोकि राति अबेर मात्र नेपाल प्रवेश गर्न दिइएको थियो ।

विहीबार राँगा हस्तान्तरण गर्दै भारतीय पशु चिकित्सक राजेश कुमारले मुर्रा राँगाले भैंसीको नस्ल सुधारमा क्रान्ति ल्याउने बताउनुभयो । सो अवसरमा राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय काठमाडौंका प्रमुख माधव अर्यालले मुर्रा राँगाको माध्यबाट नेपालमा पशुपालनमा ठुलो उपलब्धी हासिल हुने बताउनुभयो ।

प्रमुख अर्यालका अनुसार भारतबाट प्राप्त भएका १५ वटा राँगामध्ये तीन वटा राष्ट्रिय पशु प्रजनन् कार्यालय बाँके गौघाट पठाइएको छ । सात वटा राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरा र पाँच वटा राष्ट्रिय पशु प्रजनन् कार्यालय लहान टोलीलाई बुझाइएको छ ।

राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शिभनाथ महतोले राँगा बुझिसकेको जनाउँदै विहीबार नै लहान र पोखरातर्फ गाडीमा लैजाने बताउनुभयो । यसअघि भारतबाट आउने राँगा बुझ्न काठमाडौंबाट बुधवार विहानै पशु सेवा विभाग अन्तर्गतको राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय काठमाडौंका प्रमुख माधव अर्याल नेपालगन्ज पुग्नुभएको थियो । राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका प्रमुख पशु विकास अधिकृत डा. भाजुराम महतो र राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शिभनाथ महतोको टोली पनि नेपालगन्ज पुगेको थियो ।

भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रिय भैंस अनुसन्धान संस्थानबाट १५ वटा मुर्रा जातका राँगा लोड गरेर पठाइएका दुई वटा ट्रक ३० घण्टाको यात्रापछि यहाँस्थित जमुनाह नाका पुगेका थिए । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई १५ वटा मुर्रा राँगा उपहारस्वरुप दिने घोषणा गर्नुभएको थियो ।

Nabintech