२० बैशाख २०८१, बिहीबार
मतदातासँग एकवर्षे समीक्षा गर्दै खत्री

  • टाइम्स संवाददाता

  • १० मंसिर २०८०, आईतवार १३:४४

बैजनाथ, बाँके : बाँके क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले एकवर्षे कार्यकालको समीक्षाका लागि स्थानीय मतदातासँग अन्तरक्रिया सुरु गर्नुभएको छ ।

नेकपा (एमाले) बाट निर्वाचित प्रदेश सभा सदस्य  खत्री र आम जनताबिच प्रत्यक्ष अन्तरक्रिया हुनेगरी आइतबारदेखि चिसापानीबाट जनतासँग प्रदेश सभा सदस्य कार्यक्रम सुरु भएको हो ।

कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका–८ र खजुरा गाउँपालिका–४ मा ६० बढी स्थानमा प्रत्यक्ष अन्तरक्रिया हुनेगरी योजना बनाइएको एमाले बैजनाथ गाउँपालिका कमिटीका सचिव प्रेम सुवेदीले जानकारी दिनुभयो ।

आइतबार चिसापानीमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य खत्रीले निर्वाचनको समयमा जनताबिच गरिएका प्रतिबद्धता कार्यान्वयन भएको दाबी गर्दै कामको समीक्षा हुनेगरी जनतामाझ आएको बताउनुभयो ।

खत्रीले भन्नुभयो, ‘मैले एक वर्षमा गरेका कामहरू तपाईँको बिचमा राखेको छु, तपाईँहरूबाट प्राप्त रायसल्लाहका आधारमा आगामी दिनमा काम गर्नेछु ।’ एमाले प्रदेश कमिटी सदस्य घननाथ खनाल, नेताहरू रुपबहादुर मल्ल, पुणितविक्रम शाह, निर्मला मल्ल, प्रेम सुवेदीसहितको उपस्थितिमा चिसापानीबाट कार्यक्रमको सुरुवात भएको हो ।

कार्यक्रम अन्तर्गत एक दिनमा एउटा वडाका विभिन्न बस्तीमा जनता  र प्रदेशसभा सदस्यबिच दोहोरो संवाद र अन्तरक्रिया हुने उहाँहरूको भनाइ छ । प्रदेश सभा सदस्य खत्रीले निर्वाचन सम्पन्न भएको एक वर्षको समीक्षा समेत हुनेभएकाले जनताबिच पुगेको बताउनुभयो ।

बैजनाथमा कार्यक्रम सम्पन्न भएपछि खजुराका वडा ५, ६, ७ र ८ मा पनि यो कार्यक्रम सञ्चालन हुनेभएको छ । पार्टी कार्यकर्ता र आमजनतासँग निर्वाचनको समयमा गरिएको प्रतिबद्धता कार्यान्वयन भए नभएको विषयमा आम जनतासँग साक्षात्कारका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको एमाले बैजनाथ गाउँपालिका कमिटीका सचिव सुवेदीले जानकारी दिनुभयो ।

Nabintech