१८ बैशाख २०८१, मंगलवार
चिसोले भूकम्पपीडित बालकको मृत्यु

जाजरकोटमा भूकम्पपछि चिसोले मृत्यु हुनेको संख्या २०


  • टाइम्स संवाददाता

  • १६ मंसिर २०८०, शनिबार १२:५५

जाजरकोट: छेडागाड नगरपालिका-०८ रुवका बिर्खबहादुर सार्कीका १२ वर्षीय छोरा दीपक सार्कीको चिसोका कारण शनिबार बिहान मृत्यु भएको छ । भूकम्पले घर चर्किएपछि उनको परिवार पालमुनि बस्दै आएको थियो ।

स्थानीय बिर्खबहादुर गिरीका अनुसार मृतक बालकलाई चिसोले निमोनिया भएको थियो । निमोनियापछि उनलाई छेडागाड नगरपालिका-०९ पजारुस्थित स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । स्वास्थ्य चौकीबाट घर लगेपछि राति २ बजे उनको मृत्यु भएको बुबा बिर्खबहादुर सार्कीले पुष्टि गरे ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले धेरैलाई घरबारविहीन बनाएको छ । केही घर पूर्ण रूपमा भत्किएका छन् भने अधिकांश घर चर्किएका छन् ।

घर चर्किएपछि खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ । न्यानो लुगाको अभावमा चिसोले पीडितहरूको ज्यान गइरहेको छ । यो सहित हालसम्म जाजरकोटमा भूकम्पपछि चिसोले मृत्यु हुनेको संख्या २० पुगेको छ ।

Nabintech