२१ बैशाख २०८१, शुक्रबार
भालुबाङमा पत्रकार महिला लक्षित प्रविधिमैत्री पत्रकारिता तालिम

पत्रकारलाई मोबाइल र डाटा जर्नाल्जिम, पत्रकार आचारसंहितासहित प्रविधिमैत्री पत्रकारितासम्बन्धी सीप दिइने


  • टाइम्स संवाददाता

  • १८ मंसिर २०८०, सोमबार १६:०९

बाँके: प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी प्रविधिमैत्री पत्रकारिता तालिम आयोजना गरेको छ । सोमबारबाट दाङको भालुबाङ्गमा सुरू ३ दिने तालिमको उद्घाटन सञ्चारमन्त्री रेखा शर्माले गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।

उहाँले पछिल्ला केही वर्षहरुमा नेपालमा समावेशीकरणको सवाल धेरै अगाडि बढेको भए पनि पत्रकारिता क्षेत्रमा महिलाको संख्या निकै कम रहेको भन्दै यसलाई बढाउन आवश्यक रहेको बताउनुभयो । शर्माले पत्रकार महिलाको क्षमता र दक्षता बढाउन प्रविधि लक्षित तालिम फलदायी हुने विश्वास आफुमा भएको बताउनुभएको छ।मन्त्री शर्माले पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन आवस्यक रहेको बताउनु भएको छ।

प्रेस काउन्सिल नेपालका सदस्य एवम् तालिमका संयोजक शरद अधिकारीले प्रबिधिको माध्यमबाट पोख्त पत्रकारिता गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभएको छ । प्रविधिमैत्री नहुँदा पत्रकारिताबाटै पलायन हुने र अवसरबाट वञ्चित हुने अवस्था हुन नदिने प्रयासमा काउन्सिल रहेको उहाँको भनाइ छ । तालिमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रविधिसँग जोडिएर मात्रै समयानुकूल पत्रकारिताको अभ्यास हुने बताउनुभएको छ । उहाँले नयाँ पुस्तालाई पत्रकारितामा आकर्षण गर्न र पेसामा रहेकालाई टिकाउन यस्ता तालिम महत्वपूर्ण हुने बताउनुभयो ।

यस्तै सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले प्रबिधिको उच्चतम प्रयोगबाट गरिने पत्रकारिताले पत्रकार महिलालाई गुणात्मक, सचेत र व्यवसायिक रूपमा अगाडि बढाउन सघाउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले निर्णायक तहमा पत्रकार महिलालाई पुर्याउन, पत्रकारितामा महिलाको उपस्थित वृद्धि गर्ने र पेसागत सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । उक्त तालिममा सहभागी पत्रकारलाई मोबाइल र डाटा जर्नाल्जिम, पत्रकार आचारसंहितासहित प्रविधिमैत्री पत्रकारितासम्बन्धी सीप दिइने विज्ञ अरुण कार्कीले जानकारी गराउनु भएको छ।

Nabintech