४ जेष्ठ २०८१, शुक्रबार
‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली आज कास्की आइपुग्ने

आजको यात्रामा टोलीले १ सय २० किलोमिटर दुरी पार गर्नेछ


  • टाइम्स संवाददाता

  • २१ मंसिर २०८०, बिहीबार ०८:१५

गण्डकी: नेकपा (एमाले) को मध्य पहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ:  समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली आज कास्की आइपुग्ने भएको छ ।

यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको उक्त सङ्कल्प यात्राअन्तर्गत कास्कीमा दुई दिनसम्म विविध कार्यक्रम तय गरिएको छ ।

एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई आज दिउँसो कास्की र पर्वतको सीमा स्थल नयाँ पुलमा स्वागत गरिने भएको छ । आज नै कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत, पोखरा महानगरपालिकाको हेम्जामा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै, शुक्रवार बिहान पोखराको अमरसिंह चोक, ताल चोक र रुपा गाउँपालिकाको तालबेँसीमा स्वागत कार्यक्रम हुने उहाँले बताउनुभयो । सोही दिन उक्त टोली रुपा गाउँपालिकाको पिपले बजार हुँदै लमजुङ प्रस्थान गर्ने जनाइएको छ ।

“हेम्जा र तालचोकमा भेटघाटसहित पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ”, गुरुङले भन्नुभयो, “स्थानीयवासीसँग विकास निर्माण र जनजीविकाका विषयमा अध्यक्षज्यूले अन्तर्क्रिया गर्नुहुनेछ ।”

सङ्कल्प यात्रामा सहभागी टोलीलाई एमाले स्थायी कमिटी सदस्य एवं कास्की जल्ला इञ्चार्ज थममाया थापासहित नेता, कार्यकर्ताले कास्कीमा स्वागत गर्ने एमालेले जनाएको छ ।  आजको यात्रामा टोलीले १ सय २० किलोमिटर दुरी पार गर्नेछ । बुधवार करिब १ सय ५० किलोमिटर दुरी पार गरेको थियो ।

मध्य पहाडका सामाजिक आर्थिक,सांस्कृतिक अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन, स्थानीयबासीसँग अन्तरक्रिया गरेर त्यहाँका समस्याको पहिचान र समाधान उपायको खोजीमा मङ्सिर १४ गतेबाट एमालेले मध्य पहाडी राजमार्गको यात्रा सुरु गरेको हो । सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने नारासहित मङ्सिर १४ गते राजमार्गको पश्चिमी विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पुस २ गते पाँचथरको चिवाभञ्जयाङ मा टुङ्गिनेछ ।

Nabintech