४ जेष्ठ २०८१, शुक्रबार
लुम्बिनी प्रदेशमा चार महिनाको अवधीमा ९ सय ५० घरेलु हिंसा

बाँके जिल्लामा सबैभन्दा बढी दुई सय ८२ वटा घरेलु हिंसाका घटना


  • किरण शाह

  • २१ मंसिर २०८०, बिहीबार ०९:१७

दाङ: लुम्बिनी प्रदेशमा  चार महिनामा महिला हिंसाको तथ्याङ्क हेर्दा घरेलु हिंसाको अवस्था डर लाग्दो देखिएको छ ।
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनाको अवधिमा विभिन्न खाले हिंसा मध्ये  साढे नौ सय घरेलु हिंसाका घटना भएको तथ्याङ्कले देखिएको हाे ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकाे दर्ता तथ्याङ्कका अनुसार  चालु आर्थिक वर्षको साउन महिना देखि कात्तिक मसान्तसम्म साढे नौ सय घरेलु हिंसाका घटना दर्ता भएका शाखामा कार्यरत  सरस्वती थापाले जानकारी दिनुभयो ।

ती मध्ये बाँके जिल्लामा सबैभन्दा बढी दुई सय ८२ वटा घरेलु हिंसाका घटना भएका छन् । त्यसपछि रुपन्देहीमा एक सय ७६, कपिलवस्तुमा एक सय सात ,नवलपरासीमा ८९, बर्दियामा ७५, दाङमा ५८, गुल्मीमा ३५,अर्घाखाँचीमा ३३, पाल्पामा ३०, प्युठानमा ३०, रोल्पामा २० र रुकुम पूर्वमामा १५ वटा त्यस्ता घटना भएको थापाले बताउनुभयो  ।

कार्यालयमा दर्ता भएका साढे नौ सय घटना मध्ये हालसम्म चार सय ८८ घटना मिलापत्र भइसकेका छन् । ती मध्ये ८४ मुद्दा मिलापत्र हुन नसकी अदालत पठाइएको थापाले जानकारी दिनुभयो  भने तीन सय ७८ वटा मुद्दा मिलापत्रको प्रक्रियामा रहेका छन्  । तथ्याङ्क हेर्दा गत आर्थिक वर्ष २०७९/०८० मा प्रदेशका १२ वटा जिल्लामा दुई हजार आठ सय ८८ वटा घरेलु हिंसाका घटनाहरू भएको  थियो ।

ती मध्ये दुई हजार ४६ वटा मुद्दा मिलापत्र भई सकेका छन् भने चार सय २४ वटा मिलापत्र हुन नसकी अदालत पठाइएका छन् । थप ५१ वटा मुद्दामा मिलापत्रको प्रक्रियामै रहेका छन् । गत वर्षको तथ्याङ्क नियाल्दा बाँकेमा सबैभन्दा धेरै आठ सय ५५ वटा घरेलु हिंसाका घटना दर्ता भएका थिए ।

त्यस्तै लुम्बिनीका १२ जिल्लामा चालु आर्थिक वर्षमा जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बहु विवाह, बाल विवाह,अवैध गर्भ पतन, बोक्सी आरोप, जातीय छुवाछुत, बालयौन दुराचार,अप्राकृतिक मैथुन र मानव बेचबिखन गरि दुई सय ४६ वटा महिला बालबालिका विरुद्ध अपराध घटना भएका छन् ।

जस मध्ये एक सय ४९ वटा मुद्दा फर्छ्यौट भएका छन् भने ९७ वटा प्रक्रियामा छन् ।तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा महिला तथा बाल बालिका विरुद्ध छ सय ८४ वटा अपराधका घटना भएका थिए । ती मध्ये आठ सय ८४ फर्छ्यौट भइसेकेका छन् भने थप एक सय फर्छ्यौट हुन बाँकी रहेका छन् ।

Nabintech