१२ श्रावण २०८१, शनिबार
कोहलपुर क्रिकेट रङ्गशालालाई महिला क्रिकेट एकेडेमी बनाउन सुझाव

  • टाइम्स संवाददाता

  • २१ मंसिर २०८०, बिहीबार १९:४२

कोहलपुर:कोहलपुर क्रिकेट रङ्गशालालाई महिला क्रिकेट एकेडेमी बनाउन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सुझाव दिनुभएको छ । दशौ राष्ट्रिय खेलकुदको तयारी बैठकमा सुर्खेत जाने क्रममा क्रिकेट रङ्गलाको अवलोकन गर्नुहुँदै मन्त्री लिम्बु र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले स्थानिय तहसँगको सहकार्यमा रङ्गशालाको संरक्षण गर्नु पर्नेमा जोड दिनुभएको हो ।

पाँच विगाह क्षेत्रफलमा फैलिएको क्रिकेट रङ्गशालामा एकातर्फ रापिट निर्माणको कार्य भईरहेको छ । करिब दुई करोड ११ लाख बजेटमा निमार्ण हुँदै गरेको प्याराफीट २०८१ जेठ भित्र सम्पन्न हुनु पर्ने सम्झौता रहेको छ । क्रिकेट रङ्गशालाको विषयमा परिषद्का बोर्ड सदस्य तथा क्रिकेटका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले जानकारी गराउनुभएको थियो ।

त्यसक्रममा नेपालगन्जबाट निर्वाचित प्रदेश सांसद तथा  कोहलपुर नगरपालिकाका मेयर र वडा अध्यक्षहरुले क्रिकेट मैदान निर्माणमा स्थानिय तह तयार रहेको बताएका थिए ।

यस्तै मन्त्री लिम्बुले नेपालजन्जमा निर्माण हुँदै गरेको सेन्थेटिक ट्रयाकको पनि निरिक्षण समेत गर्नुभएको छ । एघार करोड ६६ लाख बजेटबाट निर्माण  हुँदै गरेको ट्याकमा हाल बेसको काम भईरहेको इन्जिनियर राजु श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरि सम्झौता भएपनि चिसो मौसमा पीचको काम गर्न अप्ठेरो पर्ने भएकाले बैशाखसम्म काम सकिने बताईएको छ । निरिक्षणका क्रममा सदस्य सचिव टंकलाल घिसिङले निर्धारित समय भित्र काम सक्न निर्माण कम्पनीलाई निर्दशन दिनुभयो ।

सोही क्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, परिषद्का विभागीय प्रमुखहरु प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Nabintech