१२ श्रावण २०८१, शनिबार
आजबाट सुदूरपश्चिम महोत्सव, प्रधानमन्त्रीले उद्घाटन गर्ने

  • टाइम्स संवाददाता

  • २२ मंसिर २०८०, शुक्रबार ०७:२०

कैलाली: कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि धनगढीमा सुदूरपश्चिम महोत्सवको १७ औं संस्करण सुरु हुने भएको छ ।२ पुससम्म चल्ने महोत्सवका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

बिहीबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्प कुँवरले दिउँसो साढे १२ बजे प्रधानमन्त्री दाहालले महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । प्रधानमन्त्री दाहाल शुक्रबार बिहान बुद्ध एयरको विमानमार्फत धनगढी आउनेछन् भने उनी शुक्रबार साँझ काठमाडौँ फर्किने छन् ।

महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको कुँवरले बताए । झण्डै २ करोडको लगानीमा सञ्चालन हुने महोत्सव ५ लाख जनाले अवलोकन गर्ने उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरेर ४ सय स्टल रहनेन् ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई १ सय रुपैयाँ र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सव स्थलमा छुट्टै थारु गाउँ समेत बनाइएको छ ।

Nabintech