७ जेष्ठ २०८१, सोमबार
टीकापुर अस्पतालमा बिहान ८ बजेदेखि नै ओपिडी सेवा

  • टाइम्स संवाददाता

  • २२ मंसिर २०८०, शुक्रबार ०७:३२

भजनी (कैलाली) । टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ ।  यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

कार्यालय सुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपिडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ । बिहानैदेखि ओपिडी सुरु भएपछि आफूलाई सहज भएको टीकापुरका सुवर्ण चौधरीले बताउनुभयो । “आमाको उपचारका लागि कार्यालयमा बिदा लिएर अस्पताल आएको थिए”, उहाँले भन्नुभयो, “बिहान ९ बजे नै आमाको उपचार सकिएपछि बिदा रद्द गरेर कार्यालय जान सकेँ ।”

अस्पतालले बिहानको समयमा ओपिडी सेवा सञ्चालन गर्दा आफूहरूलाई सहज भएको स्थानीय नरबहादुर विष्टले बताउनुभयो । त्यसैगरी लम्कीबाट उपचारका लागि टीकापुर अस्पताल आउनुभएकी सीता देवकोटाले पनि ओपिडी सेवा बिहानै सुरु भएकाले धेरै समय कुर्नु नपरेको बताउनुभयो । “यसअघि आउँदा दिनभरि पालो कुर्दै बस्नु परेको थियो, बिहानैदेखि ओपिडी सुरु भएपछि यसपालि दिनभर बस्नु परेन, उपचार पनि समयमै भयो”, उहाँले भन्नुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले ओपिडी सेवाको समय बढाउने निर्णय यसअघि नै गरेको बताउनुभयो । नाम दर्ताका लागि अस्पताल पुग्ने व्यक्ति उपचार नगरी घर नफर्किओस् भन्ने उद्देश्यले ओपिडी सेवा बिहानैदेखि सुरु गरिएको उहाँले बताउनुभयो । “सेवाग्राहीहरूले बिहान नाम दर्ता गरेर घर फर्कने र फेरि उपचारका लागि आउनु पर्ने बाध्यता थियो, बाहिरबाट आउने सेवाग्राहीले पनि लामो समय कुर्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “सेवाग्राहीको भिडभाड कम होस्, सबैले सर्वसुलभ सेवा पाउन भनेर ओपिडी सेवा बिहानैदेखि सुरु गरिएको हो ।”

अस्पतालले ज्येष्ठ नागरिकहरूका लागि शनिवार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा उपलब्ध गराउँदै आएको छ । हाल अस्पतालमा हाल २० जना चिकित्सकले सेवा दिइरहेका छन् ।

अस्पतालले मिर्गौलाको डायलासिस सेवा सञ्चालनको प्रक्रिया अघि बढाएको छ । “डायलासिस सेवा सञ्चालनका लागि उपकरण आइसकेको छ । अब त्यसको जडान र जनशक्ति व्यवस्थापनको कुरा मात्रै बाँकी छ”, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले भन्नुभयो, “सम्भवतः केही महिनामै डायलासिस सेवा सञ्चालन हुन्छ ।”

Nabintech