४ जेष्ठ २०८१, शुक्रबार
नेपालगञ्जपछि नरैनापुरमा धेरै आमाको मृत्यु

सुविधा सम्पन्न स्वास्थ्य संस्थाको पहुँच भएको नेपालगञ्जमा मातृ मृत्युदर जिल्लाकै अन्य पालिकाभन्दा धेरै


  • टाइम्स संवाददाता

  • २२ मंसिर २०८०, शुक्रबार १५:०७

नेपालगञ्ज : नेपालगञ्ज पश्चिम नेपालको स्वास्थ्यको केन्द्र विन्दु मानिन्छ । यहाँ आधा दर्जनबढी ठूला अस्पताल छन् । विशेषज्ञ चिकित्सक बस्ने मेडिकल छ्याप्छ्याप्ती छन् । पश्चिम नेपालका २४ जिल्लाका मानिसको उपचारको थलो नै हो नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज र कोहलपुरको मेडिकल कलेज पश्चिम नेपालका विरामीको रिफरल सेन्टरको रुपमा रहेका छन् । सुविधा सम्पन्न स्वास्थ्य संस्थाको पहुँच भएको नेपालगञ्जमा मातृ मृत्युदर जिल्लाकै अन्य पालिकाभन्दा धेरै रहेको छ ।

गर्भवती/सुत्केरी मृत्युमा दूरदराजका पालिकाभन्दा नेपालगञ्ज किन अगाडि रहेको छ? यसको जवाफ कसैले खोजेका छैनन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्र चालु आर्थिक वर्षमा तीन जना आमाको मृत्यु भइसकेको छ । गतवर्ष यहाँ पाँच जना आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । नेपालगञ्जमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या पनि कम छैन । गतवर्ष बाहिरी जिल्लाबाट उपचार गर्न आएका सात जना गर्भवती/सुत्केरीको नेपालगञ्जमा मृत्यु भएको थियो ।

नेपालगञ्जपछि नरैनापुरमा धेरै आमाको मृत्यु भएको छ । गतवर्ष नरैनापुरमा चार जना गर्भवती÷सुत्केरीको मृत्यु भएको थियो । खजुरा गाउँपालिकामा तीन जना, राप्तीसोनारी गाउँपालिकामा दुई जना, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिकामा एक÷एक जना गर्भवती/सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन विष्णु श्रेष्ठले आर्थिक वर्ष २०७९/८० मा बाँकेमा १८ जना गर्भवती/सुत्केरीको मृत्यु भएको जानकारी दिइन् ।

यो वर्ष बाहिरी जिल्लाबाट आएका ११ जना आमाको बाँकेमा मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा बाँके र बाहिरी जिल्लाका गरी ३२ जना र आर्थिक वर्ष २०७७/७८ मा बाँके र बाहिरी जिल्लाका गरी बाँकेमा ४७ जना गर्भवती/सुत्केरीको मृत्यु भएको थियो । बाँकेको नेपालगञ्ज र कोहलपुरमा ठूल्ठूला अस्पताल छन् । अन्य पालिकामा पनि सुविधा सम्पन्न स्वास्थ्य संस्था छन् । बजार होस् या गाउँ बाटोको पहुँच छ । सवारी साधन जतिबेला भने पनि पाइन्छ । त्यसका बाबजुद गर्भवती/सुत्केरीको मृत्युदर कम हुन सकेको छैन ।

Nabintech