८ जेष्ठ २०८१, मंगलवार
एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा’ आज सिन्धुपाल्चोक हुँदै काभ्रेपलाञ्चोक पुग्ने

आजको यात्रा ८२ किलोमिटर हुने


  • टाइम्स संवाददाता

  • २४ मंसिर २०८०, आईतवार ०९:२१

काठमाडौँ : नेकपा (एमाले)को पुष्पलाल मध्य पहाडी लोकमार्गमा सञ्चालित ‘झुलाघाट– चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ आज नुवाकोटबाट सिन्धुपाल्चोक, थकनी, बाहुनेपाटी हुँदै काभ्रेपलाञ्चोक पुग्ने भएको छ ।

आज बिहान मेलम्ची नगरपालिका-१२ बाहुनेपाटीमा स्वागत कार्यक्रमपछि दिउँसो कुन्ताबेसीमा आमसभाको आयोजना गरिएको छ । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको संयुक्त आमसभा मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेसीमा आयोजना गरिएको हो । आमसभामा एमालेको काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका एमाले नेता कार्यकर्ता कुन्ताबेसीमा भेला हुने नेकपा एमाले काभ्रेपलाञ्चोकका सचिव राजन भुर्तेलले जानकारी दिनुभयो ।  कुन्ताबेसीको कार्यक्रममा पार्टीका अध्यक्ष केपी ओलीले सम्बोधन गर्नुहुनेछ ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आज नुवाकोटको बट्टारबाट अघि बढेको टोलीले बाहुनेपाटीमा बिहानको खाना खाने, छहरेमा भेटघाट र मण्डन, कुन्तावेसीमा आमसभा गर्ने तयारी छ । आजको वासस्थान काभ्रेको धुलिखेलमा हुने प्रमुख गौतमले जानकारी दिनुभयो । आजको यात्रा ८२ किलोमिटर हुनेछ ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नाराका साथ मङ्सिर १४ गतेबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुङ्गिने छ । यस यात्रामार्फत एमालेले मध्य पहाडको जनजीवनका समस्या, विकास निर्माणको अवस्था, बढ्दो बसाइसराइ व्यवस्थापन आदिका बारेमा छलफल चलाइरहेको छ ।

Nabintech