१ जेष्ठ २०८१, मंगलवार
कम मुल्यांकन देखाएर भन्सार पास, दुई राँगा गाएब

चार मध्ये दुई वटा राँगा शनिवार राती सशस्त्र प्रहरी वल भन्सार सुरक्षा कार्यालयको गेटबाट गायव


  • टाइम्स संवाददाता

  • २४ मंसिर २०८०, आईतवार १८:०५

नेपालगञ्ज: नेपालगञ्ज भन्सार कार्यालयबाट न्यून मूल्याङ्कन देखाएर भन्सार जाँचपास गराई राजस्व छलेर ठुलो परिमाणमा व्यापारिक माल सामान भित्रिने गरेको खुलासा भएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेबाट खटिएको टोलीले भारतबाट आएको एक कन्टेरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा न्यून मूल्याङ्कनमा भन्सार जाँचपास भएका माल सामान फेला परेपछि सो खुलासा भएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीका अनुसार भन्सार कार्यालय पार गरेर भारतबाट नेपालगन्जतर्फ आइरहेको एनएल ०१ एएफ १७२६ नम्बरको भारतीय कन्टेनर चेकजाँच गर्ने क्रममा बिल र बिजक शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिएर भौतिक परीक्षण गर्दा न्यून मूल्याङ्कनमा भन्सार जाँचपास गरिएका माल सामान फेला परेको थियो । एसपी शाहीले कन्टेनर र भारतको उत्तर प्रदेश जिल्ला फिरोजावाद बस्ने ४२ वर्षीय चालक जयपाल सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाएको थियो ।

सो कार्यालयले अनुसन्धान र भौतिक परीक्षण गरेर न्यून मूल्याङ्कनमा भन्सार जाँचपास भएका माल सामानको पाँच लाख २१ हजार ४८४ रुपियाँ जरिवाना तोकेको बताए । कम मूल्याङ्कन देखाएर राजस्व छल्ने कार्यमा भन्सार कार्यालयका कर्मचारीको पनि मिलेमतो हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । दैनिक सयौँको सङ्ख्यामा कन्टेनर र ठुला ट्रकहरू भारतबाट मालसामान बोकेर नेपालगञ्ज नाकाबाट भित्रिने गरेकोमा कतिले कम मूल्याङ्कन देखाएर भन्सार जाँच पास गराउँछन् । कतिले वास्तविक मूल्याङ्कनमा भन्सार जाँचपास गराउँछन् भन्ने बारेमा गहिरिएर अनुसन्धान आवश्यक रहेको सर्वसाधारणको माग छ ।

सशस्त्र प्रहरीको घेराबाटै दुई राँगा गायव

प्रहरीले बरामद गरेर भन्सारमा बुझाएको ४ वटा राँगा मध्य २ वटा राँगा सशस्त्र प्रहरीको पहराकोबीचबाट गायव भएको छ । नेपाल प्रहरीले डुडुवा गाउँपालिका ६ मुन्सिपुर्वाबाट नियन्त्रणमा लिएर नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको चार मध्ये दुई वटा राँगा शनिवार राती सशस्त्र प्रहरी वल भन्सार सुरक्षा कार्यालयको गेटबाट गायव भएको हो ।
भारतबाट अवैधरुपमा भित्र्याएका ४ वटा राँगा बाँके प्रहरीले बरामद गरेर भन्सारमा बुझाएको थियो । प्रहरीले राँगा बरामद गर्दा राँगा तस्करीमा संलग्न भएकाहरु फरार भएको भन्दै राँगालाई भन्सार सुरक्षामा खटिएको सशस्त्र प्रहरीको जिम्मा लगाएको थियो । भन्सार गराउन पठाएको चार मध्ये दुई वटा राँगा भन्सार कार्यालय भित्र रहेको सशस्त्र प्रहरीको कार्यालय गेटबाटै गायव भएका हुन् ।
सशस्त्रको सुरक्षामा रहेको राँगा रातारात गायव भएपछि यसमा सशस्त्र प्रहरीको मिलेमतो रहेको हुन सक्ने आंकलन गरिएको छ । गेटमा बाँधिएको राँगा गायव भएपछि अहिले सीसी क्यामेराको फुटेज हेर्ने काम भइरहेको सशस्त्रका एक अधिकारीले बताए । भन्सार छलेर नेपाल भित्राइएका समानहरु यसअघि भन्सारमा बुझाइएपनि सशस्त्रले भन्सार दाखिला नगरि मिलोमतोमा छाड्ने गरेको चर्चा चलिरहेकाबेला सिङ्गो राँगा नै सशस्त्रको पहराभित्रबाट गायव भएपछि भन्सार सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टिम विवादमा तानिएको छ ।
विगत केही सम्यदेखि नै भारतबाट सस्तोमा ल्याएर तस्करले राँगालाई नेपालमा महंगोमा विक्रि गर्दै आएका छन् । सशस्त्र प्रहरीको मिलेमतोमा भित्रिएका ति राँगा झण्डै एक लाख ४० हजार मुल्यको रहेको बताइएको छ ।
Nabintech