४ जेष्ठ २०८१, शुक्रबार
गठबन्धनका अपराध र षड्यन्त्रमूलक क्रियाकलापकाे भण्डाफाेर गर्छाैं : ओली

शान्ति स्थापना गर्न, सुशासन दिन र एकताबद्ध भएर देश अगाडि बढाउन सक्ने काम पनि एमालेले मात्र गर्न सक्छ


  • टाइम्स संवाददाता

  • २९ मंसिर २०८०, शुक्रबार १९:०६

काठमाडाैं:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकाे गठबन्धन सरकार देश र जनताका निम्ति बाधक भएकाे बताउनुभएकाे छ । झुलाघाट-चिवाभञ्ज्याङ:समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत शुक्रबार आफ्नो जन्मथलो तेह्रथुमको म्याङ्लुङ्गमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेकाे गठबन्धन सरकारका अपराध र षड्यन्त्रमूलक क्रियाकलापकाे भण्डाफाेर गरेरै छाड्ने बताउनुभयाे ।

एमालेलाई विगतमा गलत ढंगले सरकारबाट हटाइएपनि जनताकाे विश्वास जितेर फेरी आउने उहाँले बताउनुभयाे । एमालेले जनता र जनताकाे अभिमतमा विश्वास राख्ने भन्दै अध्यक्ष ओलीले अहिलेकाे गठबन्धनलाई वैधानिक ढंगले नै ताेड्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे – ‘हामी धैर्यता राख्छाैं, जनतामा विश्वास गर्छाैं, जनताकाे अभिमतमा विश्वास गर्छाैं, धैर्यतापूर्ण ढंगले अहिलेकाे गठबन्धनलाई ताेडेर, यससँग हामी लुकेर, भागेर, आक्राेशित भएर आवेश उत्तेजना देखाएर हाेइन, यस गठबन्धनका अपराधहरुलाई, देशकाे प्रगतिका निम्ति बाधक बनेका यसका षड्यन्त्रमूलक क्रियाकलापलाई  हामी भण्डाफाेर गरेरै छाड्छाैं, तर संवैधानिक, कानुनी, शान्तिपूर्ण बाटाे र जनताकाे अभिमतबाट अगाडि आउँछाैं, त्यसै कारण हामीले समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि मिसन ०८४ भनेका छाैं ।’

संकल्प यात्राका क्रममा जनताले पुन: एमालेकाे सरकार चाहेका र एमालेप्रति पूर्ण विश्वास राखेका पाइएकाे पनि अध्यक्ष ओलीले बताउनुभयाे । एमालेलाई जनताले विश्वास र भराेसा गरिरहेका भन्दै उहाँले एमाले भराेसायाेग्य पार्टी भएकाे प्रष्ट पार्नुभयाे । अनेकाैं जेलनेल र दुखकष्ट सहेर एमाले यहाँसम्म आएकाे भन्दै अध्यक्ष ओलीले एमालेलाई अलमलमा नपरीकन जनताले साथ दिनुपर्ने बताउनुभयाे ।

देशकाे रक्षा गर्न सक्ने, देशलाई अगाडि बढाउन सक्ने, देशमा समृद्धि ल्याउन सक्ने, जनतालाई विकासका लागि बाटाे देखाउन सक्ने, पूर्वाधार तयार गर्न सक्ने, भाैतिक पूर्वाधार, सामाजिक पूर्वाधारकाे व्यवस्था गर्न सक्ने पार्टी एमाले मात्रै भएकाे उहाँले बताउनुभयाे ।

शान्ति स्थापना गर्न, सुशासन दिन र एकताबद्ध भएर देश अगाडि बढाउन सक्ने काम पनि एमालेले मात्र गर्न सक्छ भन्ने स्पष्ट भएकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

एमाले माैकापरस्त कुरा गर्ने पार्टी नभएकाे भन्दै उहाँले एमाले जहिले पनि सच्याइमा अडेर, सत्यमा अडेर काम गर्ने पार्टी भएकाे प्रष्ट पार्नुभयाे । एमालेप्रति जनताले देखाएकाे विश्वास सही भएकाे भन्दै अध्यक्ष ओलीले जनताकाे विश्वासलाई एमालेले तलमाथि हुन नदिने बताउनुभयाे ।

Nabintech