१६ बैशाख २०८१, आईतवार
कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन पुनः अवरुद्ध

  • टाइम्स संवाददाता

  • ३० मंसिर २०८०, शनिबार १४:५०

नेपालगञ्ज : कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः अवरुद्ध भएको छ । मुआब्जा र वनको विवाद समाधान नहुँदा आयोजनाको काम ठप्प भएको हो । आयोजना प्रमुख रवि चौधरीका अनुसार विवादरहित क्षेत्रमा काम सकिए पनि निकुञ्ज क्षेत्रभित्रका रुख कटानको आदेश नहुँदा र स्थानीयको अवरोधका कारण काम रोकिएको हो ।

अहिलेसम्म २२ किलोमिटरसम्म तार तान्ने काम भइसकेको छ । ९५ वटा फाउन्डेसन निर्माण र ६० वटा टावर तयार भइसकेका छन् । ८० वटा पोल गाडिएको छ । बाँकी रहेका काम अघि बढाउन मुआब्जा विवाद र रुख कटानको समस्या समाधान गर्नुपर्ने हुन्छ । कर्णालीमा बिजुली पुग्ने एउटै आधार कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनलाई १३२ केभीको बनाउन काम थालिएको हो तर निकुञ्जले रुख कटान अनुमति दिएको छैन । रुख कटानको अनुमतिको फाइल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा थन्किएको छ ।

विभागबाट अनुमति प्राप्त नहुँदा निकुञ्ज क्षेत्रमा काम अघि बढ्न सकेको छैन । आयोजनाका अनुसार निकुञ्ज क्षेत्रभित्रका करिब छ हजार रुख कटानका लागि अनुमति मागिएको छ । आयोजना प्रमुख चौधरीका अनुसार ठेकेदारले काम गर्ने ठाउँ दिनूस् भनेर पत्राचार गरिरहेको छ । अब काम गर्न बाँकी क्षेत्रमा विवाद नै विवाद छ । त्यसैले काम ठप्प भएको हो । विद्युत् विस्तार क्षेत्रमा पर्ने व्यक्तिको स्वामित्वमा रहेका जग्गा मुख्य समस्या बनेका छन् ।

मु:आब्जाको विषय नटुङ्गिएकाले उक्त जग्गा आयोजनाको नाममा बनाउन समस्या भइरहेको छ । यसका साथै सरकारी वन क्षेत्र प्रयोग गर्न पनि अनुमति नपाउँदा काम गर्न सकस भएको हो । निर्माण कम्पनीले काम गर्छुभन्दा पनि काम गर्ने क्षेत्र नहुँदा हात बाँधेर बस्नु परिरहेको प्रमुख चौधरीले बताए । आयोजनाको ठेक्का सम्झौता भएसँगै कानुनी प्रव्रिmयामै झन्झट बेहोर्नु परिरहेको उनको भनाइ छ । उनले कानुनी उल्झन र विभिन्न अवरोधका कारण आयोजनाको काम रोकिएकाले सरोकारवालाले यस सम्बन्धमा चासो दिनुपर्ने बताए ।

Nabintech