४ जेष्ठ २०८१, शुक्रबार
कोहलपुरमा भोलिदेखि ७ औं मेयर कप तथा १६ औं राष्ट्रपति रनिङशिल्ड हुदै

सर्वोत्कृष्ट खेलाडिलाई दिईने पुरस्कार राशि संस्थागत गरिएको नगर प्रमुखको भनाई


  • टाइम्स संवाददाता

  • ९ पुष २०८०, सोमबार १७:३९

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा भोलिदेखि सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिता हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको संचालन र व्यवस्थापनमा आयोजित रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले आज सोमबार आयोजित पत्रकार सम्मेलनमा बताएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु हुने प्रतियोगिताको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले दिउँसो एक बजे कोहलपुर नगरपालिका–२ स्थित तेह्र विघा खेल मैदानमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।  खेलकुद गतिविधिहरु विहान सात बजेदेखि शुरु हुने प्रतियोगिता आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले जानकारी गराए ।

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख आचार्यले अन्तर मावि मेयर कप तथा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितालाई खेल उत्सवका रुपमा लैजाने योजना पालिकाको रहेको बताउदै यस बर्ष मार्शल आर्टका खेलहरु समेत थप गरिएको उल्लेख गरे । उनले कोहलपुरलाई खेलकुदका माध्यमबाट राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्ने गरी अगाडि बढेको बताउदै  हालै सम्पन्न कोहलपुर गोल्डकपले कोहलपुरको पहिचानलाई राष्ट्रिय स्तरमा पुरयाएको जिकिर गरे ।

विधागत क्षेत्रका खेलहरुलाई संस्करणका रुपमा लैजाने गरी समन्वय र सहकार्य गर्दै आएका भन्दै नगर प्रमुख आचार्यले कोहलपुर नगरपालिकाले साहारा रेसिङ क्लवसँगको सहकार्यमा कोहलपुर गोल्डकप आयोजना गरेर कोहलपुरको पहिचान बढाउन टेवा पुगेको दावि गरे । अन्तर मावि मेयर कपलाई पालिकाले प्राथमिकता दिंदै प्रतियोगितामा कोहलपुर नगर क्षेत्रका सामुदायिक र संस्थागत गरि ३६ माध्मामिक विद्यालयका १ हजार ३ सय ६७ जना खेलाडीहरुले भाग लिने जनाएको छ । रनिङ शिल्डमा छात्र ७ सय ९६ जना र छात्रा ५ सय ७१ जनाले सहभागिता जनाउने छन ।

प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपडी र मार्सलआर्ट (तेक्वन्दो, उस्सु र कराँते) का चार इभेन्ट समावेश गरिएको छ । यो वर्षदेखि मार्सल आर्ट विधा थप भएको छ । प्रतियोगितामा ५० गोल्ड मेडलका लागि प्रतिस्पर्धा हुनेछ । अघिल्ला वर्षहरुमा विद्यालयहरुले अन्तर मावि मेयर कप तथा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताहरुको व्यवस्थापन गर्दै आएकोमा यो वर्षदेखि कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुन लागेको नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाले जनाए ।

‘छैठौ अन्तर मावि मेयर कप तथा १५ औं राष्ट्रपति रनिङशिल्ड’ प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको कृष्ण माविले सातौं अन्तर मावि मेयर कप तथा १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजनाका लागि कोहलपुर नगर खेलकुद विकास समितिलाई झन्डा हस्तान्तरण गरे सँगै यो प्रतियोगिता समितिको व्यवस्थापनमा पहिलो पटक हुन लागेको हो ।

यो पटक अन्तर मावि मेयर कपका लागि बजेट दोब्बरले वृद्धि गरिएको नगर प्रमुखको दावि रहेको छ । गत वर्ष पाँच लाख रुपैयाँ विनियोजन गरिएकोमा यो पटक भने त्यसलाई वृद्धि गरेर १० लाख पुरयाइएको हो । उत्कृष्ट खेलाडीलाई रु ५१ हजार नगद पुरस्कार प्रदान गरिने छ । सातौं अन्तर मावि मेयर कप तथा १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्कृष्ट करिव एक सय जना खेलाडीहरु जिल्लामा हुने प्रतियोगितामा छनौट हुने छन् ।

कोहलपुर नगरपालिका जिल्ला स्तरीय प्रतियोगितामा लगातार दुई वर्षदेखि प्रथम हुँदै आएको छ । गत वर्ष जिल्ला स्तरीय प्रतियोगितामा कोहलपुर नगरपालिका प्रथम भएको थियो । २१ गोल्डमेडल, २२ शिल्भर र २९ कास्य पदकसहित जिल्ला प्रथम भएको थियो । या पटक पनि प्रथम भए पालिकाले शिल्ड आफैले कब्जा गर्नेछ ।

Nabintech