४ जेष्ठ २०८१, शुक्रबार
१४ औं बाँके जिल्ला स्तरिय आई.टि.एफ. तेक्वान्दोको तयारी

  • टाइम्स संवाददाता

  • ९ पुष २०८०, सोमबार १८:१८

नेपालगन्ज : १४ औं बाँके जिल्ला स्तरिय आई.टि.एफ. तेक्वान्दो प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ । नेपालगन्जस्थित रंगशालामा यही पुस २७ र २८ गते मोडेल तेक्वान्दो एकेडेमी बाँकेले प्रतियोगिता गर्न लागेको हो ।

एकेडेमीका अध्यक्ष एवम् अन्तराष्ट्रिय तेक्वान्दो महासंघ,(नेपाल आईटिएफ) का अनुशासन समिति संयोजक हुमबहादुर सुनारले उक्त प्रतियोगितामा बाँके जिल्लामा रहेका सम्पूर्ण १३ वटा डोजाङ्गहरु सहभागी हुने जानकारी दिए । ‘एउटा डोजाङ्गबाट ३८ जनाका दरले ४ सय ९६ जना खेलाडी मात्रै सहभागी हुनेछन्, यस्तै २५ जना रेफ्री, १३ जना कोच लगायत गरी कुल ५ सय २९ जनाको सहभागिता रहनेछ,’ उनले भने ।

प्रतियोगिता उद्घाटन गर्नुअघि विभिन्न झाँकीसहित नेपालगन्ज उपमहानगर क्षेत्र परिक्रमा गरिने, नृत्य तथा साँस्कृतिक कार्यक्रम र तेक्वान्दो खेलकुदका प्रर्दशनी गरिने उनले बताए । प्रतियोगिताका विजेता, उपविजेता लगायतलाई ट्रफी र प्रमाणपत्रको ब्यवस्था गरिएको नेपाल आई.टि.एफ. तेक्वान्दो संघ बाँकेका पुर्वअध्यक्ष रञ्जित गिरीले बताए ।

प्रतियोगितामा सहभागिताका लागि २ सय रुपैयाँ प्रवेश शुल्क राखिएको बताए । प्रतियोगिता सञ्चालन गर्न १४ लाखको हाराहारीमा खर्च हुने अनुमान गरिएको बाँके जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष समेत रहेका नेपाल आई.टि.एफ. तेक्वान्दो लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष बीरेन्द्र शाहीले बताए ।

खेलको माध्यमबाट लुम्बिनी प्रदेश तथा बाँके जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने, यस क्षेत्रका नेपाल आई.टि.एफ. तेक्वान्दो खेलकुद विकास, विस्तार गर्न र आउँदै गरेको खेलाडीहरुको स्तर वृद्धि तथा व्यवसायीकरण गर्ने, आन्तरिक तथा बाह्य खेल पर्यटनको अवधारणा विकास गर्ने, खेल माध्यमबाट राष्ट्रिय एकताको भावना सृजना गर्ने र निजी उद्यमीहरुलाई खेलकुदमा लगानीका लागि उत्साहित गर्ने उद्धेश्य राखिएको आयोजकले जनाएको छ ।

Nabintech