२९ बैशाख २०८१, शनिबार
बाँके किरण नालाका यी दुई पुल बन्न ढिलाई

पुलको निर्माणमा ढिलाइ भएपछि स्थानीय बासिन्दा आक्रोशित


  • गोविन्द शर्मा

  • १४ पुष २०८०, शनिबार ०८:३०

जानकी,बाँके: बाँकेको जानकी गाउँपालिका–४, छत्रपुर र खजुरा गाउँपालिका–४, चल्तुवास्थित किरण नालामा निर्माणाधीन पक्की पुलको फाउन्डेसनमा देखिएको समस्या अझै प्राविधिक रूपमा समाधान हुन सकेको छैन । यसका कारण लामो समयदेखि पुल निर्माण अघि बढ्न सकेको छैन ।

चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिना बित्दासमेत निर्माण सुरु भएको छैन । लुम्बिनी प्रदेशको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जका प्रमुख तिलक न्यौपानेले निर्माण कम्पनीले पुलको फाउन्डेसनको विषयमा विज्ञ टोलीबाट जाँच गराई प्रतिवेदन ल्याउन बाँकी रहेको बताउनुभयो ।

न्यौपानेले भन्नुभयो, “कङ्क्रिटको गुणस्तरमा आशङ्का भएको छ  । निर्माण कम्पनीले विज्ञ टोली ल्याएर जाँच गरी प्रतिवेदन बुझाएपछि मात्रै कसरी अघि बढ्ने भन्ने निक्र्योल हुने छ । पाइल फाउन्डेसन गुणस्तरीय नभएपछि करिब अढाई वर्षदेखि पुल निर्माण अघि बढ्न सकेको छैन । गत वर्ष काम अघि बढाइए पनि लगत्तै बन्द भएको थियो ।” निर्माण कम्पनीले विज्ञ टोली केही दिनमै आउने जानकारी कार्यालयमा गराएको छ ।

पुलका लागि निर्माण गरिएका ५० वटा पायलकै फाउन्डेसनमै समस्या देखिएको सडक पूर्वाधार कार्यालयले जनाएको छ । पुलको सुरुवाती फाउन्डेसनमै समस्या देखिएपछि विज्ञ टोलीको प्रतिवेदन र निर्माण कम्पनीको विकल्पबारे लिखित धारणा आउन बाँकी छ ।

गत वर्ष असार २५ सम्म सम्पन्न हुने गरी निर्माण सम्झौता भएको थियो तर हालसम्म पुलको फाउन्डेसनको काम पनि पूरा हुन सकेको छैन । प्रमुख न्यौपानेले पुल निर्माणका लागि जमिनमुनि निर्माण गरिनुपर्ने पायल फाउन्डेसनको काम गुणस्तरीय नभएको जानकारी दिनुभयो । पुल निर्माणका लागि गाल्वा सिद्धार्थ दर्शन जेभीले २०७७ फागुन १९ गते पाँच करोड ३२ लाख रुपियाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

जानकी र खजुरा तथा वैजनाथ गाउँपालिकाका बासिन्दाको सहजताका लागि सुरु गरिएको पुलको निर्माणमा ढिलाइ भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

Nabintech