२९ बैशाख २०८१, शनिबार
लागुपदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध कडाइ गर्दै बाँके प्रहरी

लागुपदार्थ सेवन गरेको नगरेको पत्ता लगाउन सुरु गरिएको परीक्षण निरन्तर जारी रहने


  • टाइम्स संवाददाता

  • १५ पुष २०८०, आईतवार ०५:४८

नेपालगञ्ज:पछिल्लो समय बाँकेका विभिन्न ठाउँमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले विभिन्न प्रकारका चेकजाँच र सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ ।

सो क्रममा जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी चालक तथा यात्रुहरुले लागूपदार्थ सेवन गरेको, नगरेको परीक्षणलाई तीव्रता दिनुका साथै कारवाही पनि अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले दिनु भएको जानकारीअनुसार जिल्लामा दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन गरेको नगरेको परीक्षण भइरहेकै बेला हाल आएर लागुपदार्थ सेवन गरे नगरेको पनि परीक्षण सुरु गरिएको बताउनुभयो ।

उहाँले सीमापारी जानेले लागु पदार्थ सेवन गरेर सवारी साधन चलाउँदै आउने गरेको खबर प्राप्त भएकाले जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त प्रहरी टोलीले भारत जाने र आउने मुख्य चोक ट्राफिक चोक नजिक सो चेकजाँच गरेको बताउनुभयो ।

उहाँले चेकजाँच गर्दा नौ जना सवारी चालक तथा यात्रुहरुले लागुपदार्थ सेवन गरेको पाइएको हुँदा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याई कारवाही प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

लागुपदार्थ सेवन गरेको नगरेको पत्ता लगाउन सुरु गरिएको परीक्षण निरन्तर जारी रहने जनाउँदै डिएसपी डाँगीले जमुनाहा नाकादेखि उत्तरतर्फ फरक ठाउँ र फरक  समयमा यो परीक्षण जारी रहने बताउनुभयो ।

बाँकेमा हुनेगरेका अधिकांश सवारी दुर्घटना तीव्र गति र मादक पदार्थ सेवन तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा हुनेगरेको हुँदा प्रहरीले गति नियन्त्रणमा ध्यान दिनुका साथै मापसे र लापसे गर्नेहरुमाथि कडा निगरानी राख्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गति नियन्त्रण र ट्राफिक नियमका बारेमा सवारी चालक र अन्य सर्वसाधारणलाई समेत सचेत पार्नु अति आवश्यक देखिएकाले सो अभियान पनि निरन्तर जारी राखेको जनाएको छ ।

Nabintech