२३ बैशाख २०८१, आईतवार
विदेश जानेको पीडा : चलचित्र ‘डन्की’

  • टाइम्स संवाददाता

  • १८ पुष २०८०, बुधबार ०८:२९

काठमाडौँ: बिदेसिनु युवाको रहर होइन, बाध्यता हो । त्यसमा पनि जो कोही युवालाई एक पटक विदेशको यात्रा गर्ने रहर मनभित्र जागेकै हुन्छ । विदेश जाने बाटो जस्तोसुकै किन नहोस्, विदेश जाने लक्ष्य मनमा बोकेपछि त्यसलाई कसैले रोक्न सक्दैन । विदेश जानका लागि अध्यागमन परामर्शदातालाई भेट्न आउनेहरू ‘डन्की’ शब्दसँग पक्कै परिचित होलान् तर सर्वसाधारणलाई भने नौलो लाग्न सक्छ । विदेश जान दुई वटा बाटो छन्, एउटा वैध र अर्को अवैध बाटो, जसलाई डन्की पनि भनिन्छ ।

चलचित्र ‘डन्की’ ले अवैध रूपमा विदेश जाने कथा बोकेको छ । गैरकानुनी रूपमा गरिने कुनै पनि काम न आफ्ना लागि फाइदाजनक हुन्छ न परिवारका लागि, बिदेसिने युवाको कथाको सार हो चलचित्र ‘डन्की’ । चलचित्रमार्फत निर्देशक राजकुमार हिरानी र अभिनेता शाहरुख खान पहिलो पटक एकसाथ देखिनुभएको छ ।

कथामा चार पात्र मनु (तापसी पन्नु), सुखी (विक्की कौशल), बल्ली (अनिल ग्रोभर) र बुग्गु (विक्रम) कोचरको वरिपरि घुम्छ । जो आफ्नो परिवारका लागि केही गर्ने उद्देश्यका साथ लन्डन जाने सपना देख्छन् । विदेश जाने सपना पूरा गर्न तीनै जना जे पनि गर्न तयार हुन्छन् । भिसा नपाएपछि तीनै जना डन्की हुँदै इङ्ग्ल्यान्ड जाने योजना ​​बुन्छन् । ठिक यसै समयमा आर्मी अफिसर हार्डी (शाहरुख खान) मनुको जीवनमा प्रवेश गर्छन् र प्रेममा पर्छन् । अब यी तीन जना विदेश जान सक्छन्, के डन्कीको बाटो यति सजिलो छ, यो बाटोमा के कस्ता समस्या र चुनौतीको सामना गर्नु पर्छ ? यी तीनका लागि मनुले के कस्ता समस्या झेल्नुपर्ने हुन्छ । यही कुराको प्रश्नको जवाफमा चलचित्र अड्किएको छ ।

चलचित्रमा अन्य तीन पात्रभन्दा पनि शाहरुखले नै धेरै जिम्मेवारी पाउनुभएको छ । शाहरुख चलचित्रभित्र आफ्नो चरित्रमा पूर्णतया डुब्नुभएको छ । चलचित्रमा उहाँको अभिनय उत्कृष्ट छ । मायाप्रेम उहाँको बलियो बिन्दु हो, नायिका तापसीसँग उहाँका प्रेमिल दृश्यहरू अद्भुत छन् । तापसीको अभिनयमा पनि खोट लाउने ठाउँ छैन । उहाँले चरित्र अनुसार उत्कृष्ट अभिनय गर्नुभएको छ । विक्की कौशल र गुरुप्रित घुग्गीले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुभएको छ । बोमन इरानीलाई प्राध्यापकको भूमिका सुहाएको छ ।

जावेद अख्तर, इरशाद कामिल, वरुण ग्रोभर, अमिताभ भट्टाचार्य, कुमार र स्वानन्द किरकरेले लेख्नुभएको गीतमा जादु छ भने सङ्गीत प्रितमको सङ्गीतले दर्शकलाई मनमोहक बनाउँछ । सोनु निगम, अरिजित सिंह, दिलजित दोसाँझ, जावेद अली र श्रेया घोषालले गाउनुभएका प्रायः गीत निकै सुन्नलायक छन् । शाहरुखलाई मन पराउनेका लागि उत्कृष्ट कथा र पारिवारिक चलचित्रको खोजीमा रहनुभएका दर्शकका लागि चलचित्र धेरै नै उपयुक्त हुन सक्छ । निर्देशक हिरानी लामो समयपछि निर्देशनमा फर्किनुभएको छ । चलचित्र ‘सञ्जु’ पछि करिब पाँच वर्षपछि उहाँको पुनरागमन भएको हो । उहाँले हरेक कलाकारबाट कसरी उत्कृष्ट काम गराउन सकिन्छ भन्ने रणनीति जान्नुभएको छ ।

Nabintech