४ जेष्ठ २०८१, शुक्रबार
हात्तीपाइले रोग निवारणका लागि कोहलपुरमा मनिटरिङ सर्भे गरिदै

यो पटक बाँकेलाई दुई कलष्टरमा बाँडेर चार ठाउँमा सर्भेको काम हुनेछ


  • टाइम्स संवाददाता

  • १८ पुष २०८०, बुधबार १९:०७

कोहलपुरः,बाँके राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि बाँकेमा इपिडिमियोलोजिकल मनिटरिङ सर्भे सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बुधवारदेखि बाँकेमा कोहलपुर नगरपालिकाबाट सर्भेको काम सुरु भएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकलपर्सन दुर्गा गौतमले जानकारी दिनुभयो ।

यो पटक बाँकेलाई दुई कलष्टरमा बाँडेर चार ठाउँमा सर्भेको काम हुनेछ । नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकालाई एउटा कलष्टर बनाइएको छ भने कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई अर्को कलष्टर बनाइएको छ । यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ र कोहलपुर नगरपालिका वडा नं.६ मा सर्भे गर्ने गरिएकोमा यो पटक भने राप्तीसोनारी गाउँपालिका वडा नं.४ र नरैनापुर गाउँपालिका वडा नं.४ मा पनि सर्भे गरिनेछ ।

सर्भेका क्रममा पास हुने कलष्टरका स्थानीयले औषधी सेवन गर्नुपर्ने छैन । एउटा वडामा एक सय ५० घरसंख्याका आधारमा ३०० जनाको रक्त नमुना संकलन गरेर जाँच गरिनेछ । बाँकेमा एक हजार दुई सय नमुना संकलन गरेर जाँच गर्ने लक्ष्य लिएको पनि गौतमले बताउनुभयो । २० वर्ष उमेर माथि व्यक्तिहरुको रक्त नमुना संकलन गरिनेछ । कोहलपुर नगरपालिका वडा नं.६ रझेनामा आज तीन सय जना स्थानीयको रक्त नमूना संकलन गरिएको छ ।

रयापिट डाइगोनिष्टक टेस्टमार्फत माइक्रोफाइलेरिया फेला परे उनीहरुको फेरि राती १० बजेदेखि २ बजेसम्मको समयमा माइक्रो स्कोपबाट रक्त नमुना जाँच गरि हात्तीपाइले रोगको परिजिवी भए नभएको पुष्टि गरिने कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्दका अधिकृत कुमार पोख्रेलले बताउनुभयो । यदी २ वा दुई भन्दा कम माइक्रोफाइलेरिया पोजेटिभ देखिए पास भएको मानिन्छ र उक्त क्षेत्रमा औषधी सेवन कार्य रोकिने छ । तर ३ भन्दा बढी पोजेटिभ देखिए भने फेल हुने र पुनः दुई वर्ष औषधि सेवन गर्नुपर्ने हुन्छ ।

अघिल्लो पटक तीन सय जनामा रक्त नमुना परीक्षण गरिएकोमा रझेनामा ३५ जनामा पोजेटिभ देखिएको थियो । बाँकेमा विगत १३ वर्षदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान चलिरहेको छ । ६ वर्षमै औषधि अभियान पूरा हुनुपर्ने भएपनि सबैले औषधि नखाइदिएका कारण यो अभियान बाँकेमा निरन्तर चलिरहेको हो । विगत दुई वर्षदेखि यो अभियानमा तीन वटा औषधि खुवाउने गरिएको छ । कीटजन्य रोग अनुसन्धान शाखा प्रमुख डा.गोकर्ण दाहालका अनुसार इपिडिमियोलोजिकल मोनिटरिङ सर्भेले २० वर्ष भन्दा माथिका मानिसहरुको शरीरमा रोग भए नभएको एकिन हुनेछ । सर्वेक्षण गरिएको भौगोलिक क्षेत्रमा आम औषधी सेवन कार्यक्रमको प्रभावकारीता समेत थाहा हुने डा.दाहालले बताउनुभयो ।

सर्भे कार्यक्रम सुरु हुनु अघि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै लुम्विनी प्रदेश सभा सदस्य सञ्जु कुमारी थारुले यो अभियानलाई प्रभावकारी गराउन सबैको सहयोग महत्वपूर्ण हुने बताउनुभयो । उहाँले रोग निवारणका लागि सबैले औषधि खानुको आवश्यकता औल्याउँदै यो सर्भेमा पोजेटिभ देखिएकाहरुले झनै कुनैपनि हालतमा औषधि खान छुटाउन नहुने बताउनुभयो । शरीरलाई अंगभंग बनाउने यस्ता रोगहरुको न्यूनीकरणका लागि राज्यले सन्चालन गर्ने अभियानहरुमा सबैको सहयोग र साथ हुन जरुरी रहेको उनको भनाइ थियो । यस्तै कोहलपुर नगरपालिका वडा नं.६ का वडाअध्यक्ष श्रीकृष्ण थारुले यो अभियानमा जनप्रतिनिधिहरुको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

Nabintech