२६ बैशाख २०८१, बुधबार
रोकिएन नेपालगन्ज सीमाबाट हुने तस्करी

  • टाइम्स संवाददाता

  • २ माघ २०८०, मंगलवार ०८:३३

नेपालगन्ज: सीमापारि भारतबाट हुँदै आएको चोरी तस्करी नियन्त्रण गर्न सम्बद्ध निकाय असफल भएका छन् । सीमाबाट हुने चोरी तस्करी निरन्तर जारी रहेको गुनासो स्थानीयको छ ।  नाकामा खटिएको सशस्त्र प्रहरीले दैनिकजसो ठुलो परिमाणमा अवैध रूपमा राजस्व छलेर भित्र्याइएका सामान नियन्त्रणमा लिँदै आए पनि चोरी तस्करी भने रोकिएको छैन ।

खुला सिमाना भएका कारण पूर्ण रूपमा तस्करी नियन्त्रण गर्न नसकिएको स्थानीयले बताएका छन् । सिमाना नजिक नेपालगन्ज १५ निवासी साहिल खानले प्रहरी प्रशासनले आफ्नो काम निरन्तर गरिरहे पनि तस्करी भने जारी नै रहेको बताउनुभयो । प्रायः दैनिकजसो भारतबाट अवैध रूपमा भित्रिएका मालसामान बरामद गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण वागेश्वरी बाँके र मातहतका युनिटहरूले पछिल्लो पटक फेरि २० लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार विभिन्न स्थानबाट काँस तथा पित्तलका भाँडावर्तन, मोटरसाइकलसहित लत्ताकपडा, किराना सामान, फलफूल तथा बिरुवा र गाडीसहित अवैध कुखुरा गरी २० लाखभन्दा बढीका सामान बरामद गरिएको छ ।

अवैध निकासी पैठारी नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरी टोलीले विभिन्न स्थानबाट भन्सार छली भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेका एक लाख ४१ हजार ८० रुपियाँ बराबरका मोटरसाइकलका पार्टस् र एक लाख ५० हजार बराबरको मोटरसाइकल, दुई लाख ४२ हजार मूल्य बराबरका काँस तथा पित्तलका भाँडा, एक लाख ७१ हजार मूल्य बराबरका विभिन्न प्रकारका फलफूल तथा बिरुवा र ५२ हजार मूल्य बराबरका लत्ताकपडासहितका अवैध  मालवस्तु बरामद गरेको छ ।

नरैनापुर गाउँपालिका–६, स्थित नन्कउपुर इलाकामा भे १ च ३६१५ नं. को म्याजिक गाडीमा भारतबाट नेपाल ल्याउँदै गरेको बिलबिजक नभएको अन्दाजी तीन लाख २० हजार मूल्य बराबरको आठ सय केजी अवैध ब्रोइलर कुखुरा र कुखुरा बोक्न प्रयोग गरिएको दस लाख मूल्य बराबरको गाडी बरामद गरेको छ ।

सोसँगै राप्तीसोनारी गापा–७ बस्ने वर्ष २५ का राजेश चौधरीलाई समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो । उहाँले बरामद भएका सामान र पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सारमा बुझाइएको पनि बताउनुभयो ।

Nabintech