१९ बैशाख २०८१, बुधबार
१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

  • टाइम्स संवाददाता

  • २७ माघ २०८०, शनिबार ०६:४१

नेपालगन्ज :  १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को तयारी पुरा भएको छ । जिल्ला खेलकुद विकास समिति बाँकेको आयोजनामा शनिबारदेखी नेपालगन्ज रंगशालामा उक्त प्रतियोगिता सुरु हुदैछ ।

प्रतियोगिताबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघ बाँकेका अध्यक्ष संदिपजंग शाहले प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीले सहभागिता जनाउने बताए । उनका अनुसार डुडुवा गाउँपालिका बाहेक जिल्लाका ७ वटा स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले मार्सलाट विधाका खेल समावेश नगर्दा उक्त खेलमा सहभागी हुन नपाउने अध्यक्ष शाहले सुनाए । यही माघ २९ सम्म सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्स, मार्सलाट लगायत विभिन्न विधामा प्रतिस्पर्धा गराइने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिताको शनिबार बिहान ११ बजेतिर लुम्बिनी प्रदेशकी सांसद माया पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष चेतकान्त भट्टराईसहित जिल्ला खेलकुद विकास समितिका पदाधिकारी तथा कर्मचारीको उपस्थिती रहेको थियो । जिल्ला स्तरिय प्रतियोगिता सम्पन्न भएपछि आगामी फागुन ११ गतेदेखी १३ गतेसम्म बुटवलमा सञ्चालन हुने प्रदेश स्तरिय प्रतियोगितामा बाँके जिल्लाका उत्कृष्ट खेलाडीले सहभागिता जनाउनेछन् । यसअघिका लुम्बिनी प्रदेश स्तरिय प्रतियोगितामा बाँके जिल्लाले लगातार पहिलो स्थानसहित उपाधि जितेको थियो ।समितिका अध्यक्ष शाहले यसपटक पनि बाँके जिल्लाले प्रदेश स्तरिय प्रतियोगितामा ह्याट्रीक गर्ने रणनीतिका साथ तयारीमा रहेको सुनाए ।

Nabintech