२१ बैशाख २०८१, शुक्रबार
राष्ट्रियसभा अध्यक्षसहित २० सांसदको पदावधि आज सकिँदै

  • टाइम्स संवाददाता

  • २० फाल्गुन २०८०, आईतवार ०८:५१

काठमाडौं – संघीय संसदअन्तर्गत माथिल्लो सदन राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आज सकिँदै छ । उनीहरूले २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल पूरा गरेका हुन् ।  अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राईको पदावधि सकिँदै छ । त्यस्तै कांग्रेसका चार सांसदहरू रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा पनि बिदा हुँदै छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नन्दा चापाई, सिंगबहादुर विश्वकर्मा, खिमलाल देवकोटा, जसपाबाट प्रमीलाकुमारी र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको कार्यकाल पनि आज सकिने छ ।  रिक्त हुने बीसमध्ये १९ जना माघ ११ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भइसकेका छन् । उनीहरूले भोलि शपथ लिने छन् । एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने छन् । ५९ सदस्यीय राष्ट्रियसभाका लागि २०७४ सालमा नयाँ संविधान जारी भएपछि ५६ सदस्य निर्वाचित भएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए ।

आज एक कार्यक्रम गरी कार्यकाल सकिएकाहरुको बिदाइ र नवनिर्वाचितको स्वागतको तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।

Nabintech