२० बैशाख २०८१, बिहीबार
कथा खोज्दै गाउँगाउँमा’

  • टाइम्स संवाददाता

  • २६ फाल्गुन २०८०, शनिबार २०:४३

  कोहलपुर  :  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रज्ञा प्रतिष्ठान कथा खोज्दै गाउँगाउँ पसेको बताएका छन् । उनले गाउँका अनेकौँ कथा अझै लेखिन बाँकी भएकाले प्रतिष्ठान कथा खोज्दै गाउँ पसेको बताए । प्रज्ञा प्रतिष्ठानद्वारा शनिबार कोहलपुरमा पहिलोपटक आयोजित लुम्बिनी प्रदेश एकदिने आख्यान महोत्सवलाई सम्बोधन गर्दै कुलपति राईले नेपालमा अनेकौँ भाषाभाषी र जातजातिका मानिसको बसोबास रहे पनि उनीहरुका कथा अझै लेख्न नसकिएको बताए ।   गाउँमा कथा खोज्दै र प्रतिष्ठानका गतिविधिबारे जानकारी दिँदै हामी गाउँ पसेका हौँ ।’ विगतमा प्रतिष्ठानलाई बौद्धिक विलासको थलो मात्र बनाउने गरेको समेत उनको गुनासो थियो 

अबका दिनमा भने प्रतिष्ठानले भाषा साहित्यप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्ने उनले दाबी गरे । त्यसैको सुरुवातस्वरुप गाउँगाउँमा रहेका लोपोन्मुख भाषा संस्कृति र समुदायका कथा खोज्नैका लागि प्रतिष्ठानले प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको उनको भनाइ छ । कोहलपुरपछि प्रतिष्ठान सदूरपश्चिम प्रदेश पुग्ने जानकारी पनि उनले दिए । प्रज्ञा प्रतिष्ठान नै मुख्य आयोजक रहेको कार्यक्रमको सहआयोजक कोहलपुर नगरपालिका र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर रहेका थिए ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. रामप्रसाद ज्ञवालीले साहित्य सिर्जना गरेर मात्र नहुने र आफूले कस्तो लेखिरहेको छु भन्नेबारे स्वयम् स्रष्टाले पनि आत्मसमीक्षा गर्नुपर्ने बताएका थिए ।  

कार्यक्रममा चर्चित आख्यानकार तथा प्रज्ञा प्रतिष्ठानका आख्यान विभाग प्रमुख अमर न्यौपानेले कोहलपुरलाई ‘सहरले खाएको गाउँ’को संज्ञा दिँदै यहाँ थुप्रै कथा अझै लेखिन बाँकी रहेको बताए । १५ वर्षअघि आफूले एउटा प्राजेक्टअन्तर्गत यही भूमिमा आएर यहाँका चिडिमार र पत्थरकट्टा समुदायका कथा लेखेको उनले स्मरण गरे ।

सांस्कृतिक सिद्धान्त निर्माण गर्ने हेतुले प्रत्येक प्रदेशबाट कम्तिमा तीनवटा सांस्कृतिक कथा लेखाउने निर्णय प्रज्ञा परिषदबाट हालै भएको जानकारीसमेत उनले दिए । विभिन्न सत्रमा सञ्चालित कार्यक्रमको पहिलो सत्रमा स्रष्टाहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी दोस्रो सत्रमा लुम्बिनी प्रदेशको साहित्यको अवस्था बारे डा. टीकाराम उदासीले प्रकाश पारेका थिए । तेस्रो सत्रमा ‘बसाइँसराइ र समाज परिवर्तनका कथा’बारे प्यानल डिस्कसन गरिएको थियो । जसमा वक्ताका रूपमा पूर्वमन्त्रीसमेत रहेका थारू भाषाका अध्येता डा. गोपाल दहित र कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य रहेका थिए ।  कार्यक्रमको सन्चालन पुर्णिामा साहित्य प्रतिस्ठानका सहसचिब खोपिराम वलिले गरेका थिए।

Nabintech