१५ बैशाख २०८१, शनिबार
सहकारी प्रकरणमा मेरो कुनै संलग्नता नभएको भेटियो

  • टाइम्स संवाददाता

  • १४ चैत्र २०८०, बुधबार १७:०४

काठमाण्डौ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिनुभएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सहकारीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नरहेको बताउनुभयो ।

उहाँले सहकारी प्रकरणमा आफूविरुद्ध दिएको जाहेरी दर्तासमेत नभएको जिकिर गर्नुभयो । सुशासन समितिको बैठकमा सांसदले पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको विषयमा प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री लामिछानेले सूर्यदर्शन सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नता नभएको जिकिर गर्नुभयो ।

सूर्यदर्शन सहकारीपीडितले लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा माघ २२ गते जाहेरी दिएका थिए । त्यसमा लामिछानेसँगै अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनलाई विपक्षी बनाइएको थियो । दिपेश भने सहकारी ठगी मुद्दामा पक्राउ परिसकेका छन् । सूर्यदर्शन सहकारीपीडितले दिएको उजुरीमा एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ ।

यस्तै बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले पनि सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताउनुभयो ।

Nabintech