१९ बैशाख २०८१, बुधबार
डढेलोले जीवजन्तु असुरक्षित

  • टाइम्स संवाददाता

  • २८ चैत्र २०८०, बुधबार ०६:३०

चितवन  : चितवन राष्ट्रिय निकुञ्जका खरमजुरका बचेरा र अन्डा डढेलोको सिकार बनेका छन् । खडेरीका कारण डढेलो लाग्न थालेपछि अन्डा, बच्चा र माउ सखाप हुने वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनुभयो ।

“निकुञ्जभरि आगो लाग्ने र चराले बचेरा कोरल्ने समय एउटै पर्छ, त्यसैले ठुलो क्षति हुन्छ,” उहाँले भन्नुभयो । रुखको टुप्पामा बस्नेभन्दा बुट्यान र झाडीमा बस्ने चरा डढेलोले बढी प्रभावित हुन्छन् । लजालु चरा खरमजुरले आगो लागेर छेउमै आइपुग्दा पनि गुँड छाड्न मान्दैन । अन्तिम अवस्थामा मात्र उड्न खोज्छ । घाँसे मैदानमा रहने हुनाले डढेलोमा बचेरा र अन्डा बच्ने सम्भावना रहँदैन । अन्डाबाट निस्केलगत्तै बचेरा हिँड्न थाल्छन् तर प्वाँख नपलाएकाले उड्न सक्दैनन् ।

डा. बरालले कोशी, बर्दिया, चितवन र शुल्काफाँटामा पाइने लोपोन्मुख प्रजातिको खरमजुरको सङ्ख्या डढेलोकै कारण ४० वर्षयता नेपालमा घट्दो क्रममा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार खरमजुरसहित ८० प्रतिशत रैथाने चराले बचेरा कोरल्ने समयमा डढेलो बढेको छ ।

Nabintech