२१ बैशाख २०८१, शुक्रबार
लुम्बिनी प्रदेशका १२ जिल्लाका चार सय बढी स्थानमा डढेलो

  • टाइम्स संवाददाता

  • १० बैशाख २०८१, सोमबार १०:०३

कोहलपुर  : गुल्मी, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लामा आगलागीका कारण ठूलो क्षति भएको छ । ती क्षेत्रमा ७० भन्दा धेरै घरगोठ जलेका छन् ।गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट झन्डै ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा आगलागीले क्षति गरेको हो । आगलागीमा परेर दुईजना घाइते भएका छन् । इस्मा–१ का हिमाल राना र मुसिकोट नगरपालिका–७ का प्रेम राना घाइते भएको र दुवै जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ । जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि घर र गोठ जलेको प्रहरीले भनाई छ । डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । यस्तै अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगोले क्षति गरेको छ । भुमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्कलगायतका गाउँमा गरी झन्डै २० घरगोठ जलेर नष्ट भएका छन । आगोले गाउँनै सखाप भएको बताइएको छ । त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ । उता रोल्पामा जंगलको डढेलो बस्तीमा फैलिँदा रोल्पामा एक दर्जन घर गोठ जलेर नष्ट भएका छन । वनको डढेलो बस्तीमा फैलिँदा आठ घर र पाँच गोठ जलेर पूर्णरूपमा नष्ट भएका हुन । आगलागीमा परी पक्षाघात भएका ७० वर्षीय सन्तु घर्ती घाइते भएका छन । प्यूठानको जंगल तर्फबाट फैलिएको आगोलाई तीव्र बेगमा चलेको हावाले रोल्पासम्म पु¥याएको हो । पछिल्लो एक सातामा लुम्बिनी प्रदेशका १२ जिल्लामा ४ सय बढी स्थानमा डढेलो लागेको छ । प्रदेश सरकारले हरेक वर्ष ६० लाख बढी खर्चिएर गर्दै आएको डढेलो सचेतना कार्यक्रम असफल देखिएको छ । हिजो एकैदिन देशका तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीको तथ्यांकले देखाएको छ । अहिले पनि देशका दुई सय एक ठाउँमा सक्रिय डढेलो देखिएको छ । अहिले सुर्खेतको २६, बाँकेको २०, सल्यान, दाङ र डडेल्धुराको १८÷१८ ठाउँसहित देशका २८ वटा जिल्लाका दुई सय एक ठाउँमा सक्रिय डढेलो रहेको हो । अहिले विशेषगरी लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा डढेलो धेरै देखिएको छ ।

Nabintech