४ जेष्ठ २०८१, शुक्रबार
तातो हावाले स्वास्थ्यमा समस्या

  • टाइम्स संवाददाता

  • १८ बैशाख २०८१, मंगलवार ०७:५६

काठमाडौँ : एक सातायता बढेको तातो हावाका कारण मानव स्वास्थ्यमा समस्या देखिन थालेको छ । पश्चिम र पूर्वी तराईका धेरै जिल्ला उच्च तापक्रमको रेड जोनमै परेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । देशका विभिन्न भूभागमा तातो हावाको लहर अझै करिब एक साता कायम रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

यस्तै क्रम जारी रहे मानिसमा ‘हिट स्ट्रोक’ हुन सक्ने उच्च सम्भावना रहेको चिकित्सकले बताएका छन् । देशव्यापी आगलागी तथा डढेलोसँगै भारत र पाकिस्तानमा चलिरहेको ‘लु’ को प्रभाव नेपालको मौसममा परेकाले मानव स्वास्थ्यमा असर बढ्न थालेको हो । शरीर शिथिल हुने, रुघाखोकी लाग्ने, ज्वरो आउने, फ्लु लाग्ने, दम तथा मिर्गाैलाका समस्या बढ्नेलगायतका समस्या देखिन थालेको चिकित्सक डा. अरुण सेढाईंले बताउनुभयो ।

उहाँका अनुसार बाहिरको तापक्रम बढेपछि शरीरले एउटा तहसम्म तातो नियन्त्रण गर्न सक्छ । उहाँले भन्नुभयो, “शरीरले थेग्न नसकेपछि हिट स्ट्रोक हुन सक्छ ।” मानिसको शरीरमा तापक्रम सन्तुलनमा राख्ने हाइपोथलामस नामको अङ्ग हुन्छ । त्यसले अत्यधिक तापक्रम थेग्न नसक्दा तापक्रम व्यवस्थापन गर्ने शारीरिक प्रणालीमै असन्तुलन आउँछ । खराबी बढ्दै जाँदा अन्य स्वास्थ्य समस्याले घेर्न थाल्ने र मानिस बेहोस भएर ढल्ने डा. सेढाईंले बताउनुभयो ।

Nabintech