काठमान्डौ : यसपटकको मनसुनमा देशभर औसतभन्दा धेरै वर्षाको प्रक्षेपण गरिएको छ । यही जेठ १९ गतेदेखि असोज १४ गतेसम्मको मनसुनी अवधिमा औसतभन्दा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद्काअनुसार देशका धेरै ठाउँमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।
सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, बाग्मती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ दशमलव चार प्रतिशतदेखि ६५ दशमलव पाँच प्रतिशत छ ।
साथै कर्णाली प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य भू–भाग तथा कोशी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदर पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।
यो अवधिमा अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा धेरै हुने देखिन्छ । यस्तै न्यूनतम तापक्रम देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ दशमलव चार प्रतिशत रहेको विभागको अनुमान छ ।