१२ श्रावण २०८१, शनिबार
प्युठानका नौ पालिका खोपयुक्त घोषणा

  • टाइम्स संवाददाता

  • २८ जेष्ठ २०८१, सोमबार १२:२८

प्युठान : जिल्लाका नौ स्थानीय तहलाई खोप सुनिश्चित्ता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्लाका दुई वटा नगरपालिका र सात वटा गाउँपालिकालाई खोपयुक्त घोषणा गरिएको हो ।

स्थानीय तहले आफ्नो पालिकाभित्र खोप लगाउनु पर्ने बालबालिकाको सर्वेक्षण गरेर खोपयुक्त पालिका घोषणा गरिएको छ । सर्वेक्षणका क्रममा खोप लगाउन छुटेका, पूरा मात्रा खोप नलगाएका बालबालिकालाई खोपको दायरामा ल्याएर खोपयुक्त पालिका घोषणा गरिएको छ ।

झिमरुक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विकास केसीले पालिकाभित्र खोप लगाउनुपर्ने सबै बालबालिकालाई खोप लागाइएको बताउनुभयो । पालिकाले सर्वेक्षण गर्दा एक जनाले एउटा पनि खोप नलगाएको र चार जनाले पूरा मात्रा खोप नलगाएको भेटिएको थियो ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरमबहादुर जिसीले अभियानको दिगोपनाका लागि सबै सरकारले लगानीको दायरा बढाउन पहल गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यजस्तो संवेदनशील बिषयमा आमनागरिक सचेत हुनुपर्ने बताउनुभयो ।

Nabintech