२ आश्विन २०८१, बुधबार
टिमुर उत्पादनमा वृद्धि

  • टाइम्स संवाददाता

  • ७ भाद्र २०८१, शुक्रबार १२:०२

कोहलपुर  : दाङमा टिमुर उत्पादनमा वृद्धि भएको छ । जिल्लाका पहाडी क्षेत्रका किसान टिमुरको व्यावसायिक उत्पादनमा जोडिएपछि टिमुरको उत्पादनमा वृद्धि हुँदैआएको छ ।

डिभिजन वन कार्यालय घोराहीका अनुसार जिल्लामा टिमुर उत्पादनमा वृद्धि भएसँगै बाहिर निकासी समेत बढ्न थालेको छ । टिमुर रोप्नका लागि निःशुल्क विरुवा वितरणसँगै थोरै लागनी र कम मिहिनेतमा सजिलै टिमुर खेती गर्न सकिने भएकाले पहाडी क्षेत्रका किसानले व्यावसायिक रूपमै टिमुर खेती गर्न थालेको डिभिजन वन कार्यालय दाङका बरिष्ठ वन अधिकृत टेकनप्रसाद आचार्य बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८०–८१ मा जिल्लामा राष्ट्रिय वनबाट २० हजार एकसय ३५ केजी र निजी वनबाट एक लाख ४९ हजार छ सय ७० केजी गरी एक लाख ६९ हजार आठसय पाँच केजी टिमुर उत्पादन भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६४ हजार केजी बढी हो ।

डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७९–८० मा राष्ट्रिय वनबाट १८ हजार केजी र निजी वनबाट ८२ हजार नौ सय ६ गरेर एक लाख पाँच हजार नौ सय ६ केजी टिमुर जिल्लामा उत्पादन भएर बाहिरी जिल्ला निकासी भएको थियो ।

यसैगरी जिल्लामा आर्थिक वर्ष २०७८–७९ मा दुई लाख ४१ हजार सातसय ४२ केजी टिमुर बिक्री भएको थियो । जसमध्ये राष्ट्रिय वनबाट २९ हजार पाँचसय ५० केजी र निजी वनबाट दुई लाख १२ हजार एकसय ९२ केजी टिमुर जिल्लाबाट बिक्री भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।

Nabintech