२४ मंसिर २०८१, सोमबार
भेरी अस्पतालमा सिकलसेल एनिमिया उपचारका लागि छुट्टै वार्ड स्थापना गरिने

  • टाइम्स संवाददाता

  • २० कार्तिक २०८१, मंगलवार १९:१४

काठमाडौं – पश्चिम तराइका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमियाको उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना हुने भएको छ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमियाको उपचारका लागि छुट्टै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् ।  थारु समुदायका धेरै व्यक्तिमा समस्या देखिएपनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन । पौडेलले भेरी अस्पताल नेपालगञ्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गरेका हुन् ।

थारु समुदायलाई पायक पर्ने र अधिक बसोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरी अस्पतालमा छुट्टै वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।  थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमियाबाट यो समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक आँकडाले देखाएको छ ।

पश्चिम तराइको बाँके, बर्दिया, कैलाली कञ्चनपुरलगायतका भू—भागमा बसोबास गर्ने थारु समुदायका नागरिकहरु सिकलसेल एनिमियाबाट बढी प्रभावित पाइएको छ ।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका बमोजिम सिकलसेल एनिमियाका बिरामीहरुलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्री, थप निदानात्मक सेवा शय्या सेवा शुल्क आदिको लागि १ लाख रुपैयाँसम्म खर्चको व्यवस्था गरिने मन्त्राललयले जनाएको छ ।

Nabintech