२४ मंसिर २०८१, सोमबार
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा

  • टाइम्स संवाददाता

  • २५ कार्तिक २०८१, आईतवार ०८:३३

सुर्खेत – सिट क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा बस प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेतबाट काठमाडौंका लागि छुटेका १५ वटा रात्रिकालीन बस शनिबार साँझ वीरेन्द्रनगरस्थित सुब्बाकुनामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । ‘सिट क्षमताभन्दा बढी यात्रु बोकेका १५ वटा नाइट बस नियन्त्रणमा लिएका छौं । बसको क्षमता अनुसार नै यात्रु राखेर जान भनेका छौं,’ प्रहरी उपरीक्षक खड्काले भने ।

उनका अनुसार प्रहरीले यात्रुहरूको सुरक्षाका लागि अर्को बसको व्यवस्था गरेर यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन यातायात समितिलाई आग्रह गरेको छ । अर्को बसको व्यवस्था नभएसम्म रात्रिकालीन बसलाई छोड्न नदिने उपरीक्षक खड्काले बताए ।

‘हामीले यातायात समितिहरूसँग छलफल गरिरहेका छौँ । यात्रुहरूको सुरक्षाका लागि तुरुन्तै अर्को बसको व्यवस्थापन गर्न अनुरोध पनि गरिएको छौँ,’ उनले भने ।  दैलेखबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको गाडी शुक्रबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना भएको थियो । उक्त गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।  प्रहरीको लापरबाहीका कारण दुर्घटना बढेको भन्दै शनिबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन भएको थियो । रातानाङ्लामा दुर्घटना भएको १५ सिटको गाडीमा ३४ जना सवार थिए । आन्दोलनकारीले प्रहरीको लापरबाहीरका कारण दुर्घटना बसेको भन्दै प्रदर्शन गरेका थिए ।

दुर्घटनामा प्रहरीको व्यापक आलोचना भएपछि प्रहरीले यस्तो कदम लिएको हो । पछिल्लो समय सिट क्षमताभन्दा बढी यात्रु राख्दा सवारी दुर्घटना बढ्न थलेपछि सुर्खेत प्रहरीले कडाइ गरेको छ ।

Nabintech