५ फाल्गुन २०८१, सोमबार
राजपुरका किसानहरुद्वारा क्षतिपूर्ति नपाएको गुनासो

  • टाइम्स संवाददाता

  • ८ माघ २०८१, मंगलवार ०८:२२

राजपुरका  किसानहरुद्वारा क्षतिपूर्ति नपाएको गुनासो
बाँकेको राप्ती सोनारी गाउँपालिका–२, राजपुरका किसानहरु जंगली जनावरको आतंकले आर्थिक र मानसिकरुपमा समस्या झेलिरहेका छन् ।
  • बाघ, बाँदर, निलगाई र बँदेलका कारण किसानका बाली र पशुचौपायामा ठूलो क्षति पुगेको छ तर समस्या समाधानका लागि प्रभावकारी पहल हुन नसकेको उनीहरूको गुनासो छ ।
    स्थानीय खडक बहादुर ओली भन्नुहुन्छ, “बाघले खोरबाटै बाख्रा तानेर लग्छ । समस्या लिएर गाउँपालिका र राष्ट्रिय निकुञ्जमा गयो भने कसैले सुन्दैन ।
    यसैगरी, रामबहादुर रोकायले बाघले गाईका बाच्छा खाए पनि राहत लिने प्रक्रियाको झन्झट सुनेर निवेदन नै नदिएको बताउनुभयो ।

“हप्तौँ पिच्छे बाघले पशुचौपाया तान्छ, तर कुनै सुनुवाई हुँदैन,” उहाँले भन्नुभयो । छलफलमा सहभागी एकबहादुर खत्रीले भन्नुभयो, “राहतका लागि निवेदन दिएर फाइल अगाडि बढाउने खर्च राहतभन्दा बढी हुने भएकाले धेरैले आशा गुमाएका छन् ।”

वनशक्ति सामुदायिक वन उपभोक्ता समितिकी सचिव शान्ति चन्दले भन्नुभयो, “क्षतिको राहत र बीमाबारे समुदायलाई जानकारी नै छैन ।
राजपुरका किसानहरूमाझ वन्यजन्तुबाट हुने क्षतिबाट समुदायले भोग्नुपरेको समस्याबारे छलफल गर्न र क्षतिपूर्ति प्राप्तिका उपाय खोज्न सोमबार आयोजित ‘गोलघर सम्वाद’ कार्यक्रमका सहभागिले यस्तो गुनासो गरेका हुन् ।
समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन) मार्फत् संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’कार्यक्रममा यस्ता गुनासाहरु आएका हुन।
Nabintech