९ पुष २०८२, बुधबार
दिगो विकासको उत्सव’ नारासहित कोहलपुर महोत्सवको भव्य उद्घाटन, ‘भिजिट बाँके नेसनल पार्क–२०२६’ को घोषणा

  • टाइम्स संवाददाता

  • ९ पुष २०८२, बुधबार १९:१८

कोहलपुर जस्तो उदाउँदो सहरको आर्थिक विकास, लगानी वातावरण र उद्यमशीलता प्रवर्द्धनमा महोत्सवले महोत्सवहरूले महत्वपूर्ण भूमिका खेल्ने उद्योग वाणिज्य माहासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले बताएका छन् । दिगो विकासको उत्सव’ भन्ने मूल नाराका साथ सुरू गरिएको महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक प्रदीप भट्टराईले महोत्सवको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै ‘भिजिट बाँके नेसनल पार्क–२०२६’ अभियानको औपचारिक घोषणा गरेका छन् । यस घोषणाले बाँके जिल्लाको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिमा नयाँ गति दिने अपेक्षा गरिएको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख, उप–प्रमुख तथा विभिन्न वडाध्यक्षहरूले महोत्सवले कोहलपुरलाई आर्थिक हबका रूपमा विकास गर्न टेवा पुग्ने धारणा व्यक्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेतृत्वले विकासका साझा एजेन्डामा सबै राजनीतिक दल एकै ठाउँमा उभिनु सकारात्मक सन्देश भएको उल्लेख गरे ।
लुम्बिनी, कर्णाली र बागमती प्रदेशका उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले अन्तर–प्रदेश व्यापारिक सम्बन्ध विस्तार र सहकार्यको आवश्यकता औँल्याए ।

कार्यक्रमको सुरुआत स्वस्ती वाचन र पानसमा बत्ती बालेर गरिएको थियो । उद्घाटन सत्रमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाँके र निन्जा डान्स स्टुडियोका कलाकारहरूले आकर्षक सांगीतिक तथा नृत्य प्रस्तुति दिँदै कार्यक्रमलाई थप रौनक प्रदान गरेका थिए ।
उक्त अवसरमा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

आयोजकका अनुसार महोत्सव अवधिभर स्थानीय उत्पादनको प्रदर्शनी, कृषि प्रवर्द्धन, व्यवसायिक स्टलहरू तथा राष्ट्रिय र स्थानीय कलाकारहरूको विविध सांस्कृतिक प्रस्तुति रहनेछ ।

Nabintech