कोहलपुर, बाँके- कोहलपुर नगरपालिका र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरबीच आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका, २०७८ बमोजिम अस्पतालले कार्यक्रमअन्तर्गतका सेवा तथा सुविधा उपलब्ध गराउनेछ। कार्यक्रम सञ्चालन तथा सेवाको अनुगमनमा दुवै पक्षको सहकार्यमा गर्ने सम्झौतामा उल्लेख गरीएको छ।
सम्झौतामा अस्पतालले सेवा प्रवाहसम्बन्धी मासिक प्रतिवेदन कोहलपुर नगरपालिकालाई उपलब्ध गराउनुपर्ने र प्रतिवेदन प्राप्त भएपछि नगरपालिकाले सम्झौताअनुसारको रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ।
सम्झौताअनुसार सेवा लिन आउने सेवाग्राहीलाई आवश्यकताका आधारमा १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट उपलब्ध गराउने व्यवस्था गरिएको कोहलपुर नगरपालिकाकि उपप्रमुख संगीत सुवेदीले बताउनु भयो । छुटका लागि कोहलपुर नगर अस्पतालबाट सिफारिस गरिएको कागजातलाई आधार मानिने तथा विपन्न नागरिकका लागि सामाजिक सेवा इकाइको निर्देशिकाबमोजिम सेवा उपलब्ध गराइने उल्लेख छ।
सम्झौता दुई वर्षका लागि गरिएको छ। अवधि समाप्त हुनुभन्दा कम्तीमा तीन महिना अगावै नवीकरण नगरेमा सम्झौता स्वतः समाप्त हुने व्यवस्था रहेको छ। यस सेवा बाट कोहलपुर नगरपालिका स्थानिय बिपन्न परिवारकालागि केहि छुटको ब्यबस्थासङ्गै स्थानिय महिला तथा शिशु सुरक्षा हुनुका साथै मात्रिमृत्युदर कम गर्ने सरकारको लक्ष्यानुसार काम गर्नलाइ सहज हुने कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले बताउनु भयो ।
सम्झौतामा कोहलपुर नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरका तर्फबाट मेडिकल डाइरेक्टर प्रा.डा. रेशमबहादुर रानाले हस्ताक्षर गरेका छन्।








