कोहलपुर : कोहलपुर नगरपालिका–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा विद्यार्थीको सिर्जनशीलता, प्रयोगात्मक सिकाइ र प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित शैक्षिक प्रदर्शनी शनिबार सम्पन्न भएको छ।कक्षा केजीदेखि कक्षा ३ सम्मका विद्यार्थीको सहभागितामा आयोजित प्रदर्शनीमा बालबालिकाले शिक्षकहरूको मार्गदर्शनमा विभिन्न विषयसँग सम्बन्धित सिर्जनात्मक परियोजना तथा नमुना सामग्री प्रस्तुत गरेका थिए। प्रदर्शनीको उद्घाटन विद्यालयको अभिभावक–शिक्षक संघका सदस्य डा. सुभास पाण्डे र अञ्जना पाण्डेले गरेका थिए।

प्रदर्शनीमा गणित, विज्ञान, सामाजिक अध्ययन तथा वातावरणसँग सम्बन्धित विभिन्न नमुना तथा परियोजना राखिएका थिए। विद्यार्थीहरूले आफूले निर्माण गरेका मोडलको अवधारणा, निर्माण प्रक्रिया र त्यसको उपयोगिताबारे अभिभावक तथा अवलोकनकर्तासमक्ष आत्मविश्वासका साथ जानकारी गराएका थिए।सानै उमेरका विद्यार्थीले आफ्नै प्रयासमा तयार गरेका विभिन्न नमुना र परियोजनामार्फत आफ्नो सिर्जनशीलता, कल्पनाशक्ति तथा बौद्धिक क्षमता प्रस्तुत गरेका थिए। आफूले बनाएका सामग्रीबारे विद्यार्थीहरूले उत्साहपूर्वक व्याख्या गर्दा प्रदर्शनीमा सहभागी अभिभावक तथा अन्य अवलोकनकर्ताको समेत ध्यान आकर्षित भएको थियो।


आफ्ना छोराछोरीले तयार गरेका सिर्जनात्मक सामग्री अवलोकन गर्न ठूलो संख्यामा अभिभावक विद्यालय पुगेका थिए। बालबालिकाको प्रस्तुति र आत्मविश्वास देखेर अभिभावकहरू उत्साहित भएका थिए। विद्यालयका अनुसार कार्यक्रममा ६ सयभन्दा बढी विद्यार्थी र करिब एक हजार अभिभावकको सहभागिता रहेको थियो।
विद्यालयले परियोजना कार्यलाई कक्षाकोठाको सिकाइलाई व्यवहारसँग जोड्ने प्रभावकारी माध्यमका रूपमा अघि बढाएको जनाएको छ। परियोजना निर्माणका क्रममा विद्यार्थीले विषयवस्तु केवल पढ्ने मात्र नभई त्यसलाई व्यवहारमा प्रयोग गर्दै सिक्ने अवसर प्राप्त गर्ने विद्यालयको भनाइ छ।
विद्यालय परिवारका अनुसार परियोजना कार्यले बालबालिकामा ‘गरेर सिक्ने’ बानीको विकास गर्नुका साथै सोच्ने, खोज्ने, प्रश्न गर्ने, समस्या समाधान गर्ने र नयाँ कुरा सिर्जना गर्ने क्षमताको विकास गर्न सहयोग पुर्याउँछ। कक्षाकोठामा सिकेका विषयवस्तुलाई व्यवहारमा प्रस्तुत गर्ने अवसर पाएपछि विद्यार्थीमा आत्मविश्वास बढ्नुका साथै सिकाइप्रतिको रुचिसमेत थप बलियो हुने विद्यालयको विश्वास छ।प्रदर्शनीमा विद्यार्थीको उत्साह र अभिभावकको सहभागिताले विद्यालयको प्रयोगात्मक तथा सिर्जनात्मक शिक्षण अभ्यासलाई थप प्रोत्साहन गरेको विद्यालयले जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, अभिभावक, शिक्षक–शिक्षिका तथा सम्पूर्ण विद्यार्थीप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ। विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको सिर्जनात्मक क्षमता, प्रयोगात्मक सिकाइ र प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।








