नेपालगञ्ज: जुम्लाको पातारासी गाउँपालिका-३ का किसान कृष्णबहादुर महातराले २ हजार ७ सय २५ वर्ग मिटर जग्गामा मार्सी धान रोपेका छन् । २ साताअघि मात्रै प्रिमियम बापत ३ सय ३५ रुपैयाँ तिरेर उनले उक्त खेतीको बीमा गरेका छन् । अब उक्त मार्सी धान नभित्र्याउँदा सम्म केही क्षति भए उनले बीमा बापत २६ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
कृष्णका छिमेकी पदमबहादुर महताराले पनि ३.८४ रोपनी जग्गामा लगाएको मार्सी धानको बीमा गरेका छन् । २ सय ६० रुपैयाँ प्रिमियम रकम तिरेर बीमा गरेका उनले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर्ति पाउनेछन् । मार्सी धान मुख्य रूपमा कर्णाली प्रदेशको जुम्लामा मात्रै उत्पादन हुने गर्छ ।
केही वर्षयता मुलुकभित्र र बाहिरसमेत माग बढेपछि यसको उत्पादन बढाउन र किसानलाई खेतीतर्फ आकर्षण गर्न पहिलो पटक बीमा कार्यक्रम ल्याइएको हो । मार्सी धानमा रोग किराको संक्रमण हुनुका साथै प्राकृतिक प्रकोपका कारण उत्पादनमा समेत कमी आउन थालेको किसान बताउँछन् ।
छुमचौरमा कृषि अनुसन्धान केन्द्र विजयनगरले ६ जातको मार्सी धान रोपेको छ । २ हजार ८ सय ५० मिटर उचाइमा फल्ने मार्सी धानको पहिचान बचाउन पनि बीमा थालिएको कम्पनीले जनाएको छ ।