बाँके : बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं.२ की १६ वर्षिय किशोरी बलात्कृत भएकी छन् । बिहीबार ति किशोरी बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.५ स्थित आफ्नो दिदीको घरमा जाने क्रममा बढैयाताल गाउँपालिकाको फुलबारी स्थित सडकमा बलात्कृत भएकी हुन् ।
बलात्कार आरोपमा बैजनाथ गाउँपालिका वडा नं.८ गुरुदयालपुर बस्ने बर्ष ३० को राजेश मंगता र सोही ठाउँ बस्ने बर्ष अन्दाजी २० को रोहन खटिकलाई पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ ।
पिडित ति किशोरीले वास्तविक नामथर थाहा नभएका अन्दाजी २४/२५ वर्षको राजेश भन्ने ब्यक्ति समेत २ जना मिली जबरजस्ती करणी गरी फरार भएको भनी बिहीबार बिहान ईलाका प्रहरी कार्यालय मैनापोखर जानकरी गराएकी थिइन ।
सोही आधारमा राजेश मंगतालाई उनको घर बाट र रोहन खटिकलाई गुलरिया नगरपालिका १२ डल्लापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
दुवैलाई नियन्त्रणमा लिई बर्दिया जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।