२१ कार्तिक २०८१, बुधबार
रुकुम पश्चिम : अदुवा किन्न बारीमै पुग्छन् व्यापारी, १८ सय मेट्रिक टन निर्यात

  • टाइम्स संवाददाता

  • १६ मंसिर २०७९, शुक्रबार १५:२९

रुकुम पश्चिम: रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा उत्पादन भएको अदुवाले राम्रो बजार पाएको छ । सरकारले अदुवा ब्लक कार्यक्रम सञ्चालन गरेर अदुवा उत्पादनमा जोड दिएपछि यहाँको उत्पादनले बजार पाएको हो ।

त्रिवेणी गाउँपालिका ४ पोखरी गाउँका शेरबहादुर खड्काले अदुवा खरिद गर्न व्यापारी बारीमै आउने गरेको बताउनुभयो । व्यापारीले अदुवाको माग धेरै गरेपछि अदुवा खन्ने, केलाउने र सुकाउने काममा व्यस्त भएको उहाँले जनाउनुभयो ।

मकै खेती छोडेर अदुवा खेती गर्न थाल्नुभएका उहाँले बारीमा २० क्विन्टल अदुवाको बिउ लगाएकोमा अहिलेसम्म त्यसबाट ८० क्विन्टल अदुवा निकालिसकेको बताउनुभयो । अदुवा खेती गर्न सजिलो हुने भएकाले मकै छोडेर यसतर्फ आकर्षित भएकाे उहाँकाे भनाइ छ ।

पोखरी गाउँमा मात्रै ३२ घरले व्यावसायिकरूपमा अदुवा खेती गरेका छन् । व्यापारीले घरमै पुगेर अदुवा प्रतिक्विन्टल चार हजार रुपैयाँसम्ममा खरिद गर्ने गरेका छन् । सडककाे सुविधाका कारण व्यापारी ट्र्याक्टर लिएर अदुवा खरिद गर्न गाउँसम्मै आउने गरेका किसानकाे भनाइ छ । यहाँका किसानले अदुवा बेचेर एक सिजनमा झन्डै पाँच लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् ।

कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले यस सिजनमा अहिलेसम्म झन्डै एक हजार आठ सय मेट्रिक टन अदुवा जिल्ला बाहिर निर्यात भएको जानकारी दिनुभयो । उहाँका अनुसार औसतमा प्रतिकिलो ४० रुपियाँमा अदुवा बिक्री हुने गरेको छ । कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा त्रिवेणी गाउँपालिकामा मात्र एक सय ८० हेक्टर जमिनमा अदुवा लगाइएको थियो । अझै पनि किसानले बारीबाट अदुवा निकाल्दै गरेका निमित्त प्रमुख केसीले बताउनुभयाे ।

यस गाउँपालिकाको सिम्रुतु, खारा, झुल्नेटा, बाघखोर र नुवाकोटडाँडामा अदुवा सङ्कलन गरि जिल्ला बाहिर निर्यात हुने गर्दछ । जिल्लाको त्रिवेणी गाउँपालिका, आठबिसकोट नगरपालिका र चौरजहारी नगरपालिकाका केही वडामा अदुवा राम्रो उत्पादन हुने गर्छ । अदुवा बेचेरै गाउँमा करोडौँ रुपियाँ भित्रिने गरेको छ ।

Nabintech