नवलपुर: माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो ।
माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन् । माघेसङ्क्रान्तिमा तरुलको माग पनि हुने र सहजरूपमा बिक्री हुने भएपछि आफूले लगाएको तरुल खनेर बिक्रीका लागि बजार लगेको हुप्सेकोट गाउँपालिका–५ का मकरसिंह सारुमगरले बताए । “अहिले तरुलको माग धेरै हुन्छ, बिक्री गर्न पनि समस्या हुँदैन, यसैले अहिले लगाएको सबै तरुल खनेर बजार पुर्याइयो”, उनले भने । आफूले यस वर्ष करिब दुई क्विन्टल तरुल बेचेको उनले बताए ।
धौवादीका शेरबहादुर झेडीमगरले पनि आफूले लगाएको तरुल खनेर बजारसम्म पुर्याइससकेका छन् । माघेसङ्क्रान्तिका दिनमा यसको महत्व हुँदा अहिले समयमै बजार पुर्याउन आफूहरू लागेको उनले बताए । “आजभोलिमा बेच्यो भने बेच्यो, पछि कसैले त्यति खोज्दा पनि खोज्दैन, भाउ पनि हुन्न त्यसैले अहिले लगाएको तरुल खनेर बेच्न चटारो छ”, उनले भने । एक दिनका लागि धेरै उपभोग हुने र अन्य समय खासै महत्व नहुने हुँदा धेरै लगाउनसमेत जोखिम रहेको उहाँले बताउनुभयो । तर अहिले लगाएको जति बजारीकरणमा भने समस्या नभएको मगरको भनाइ छ ।
नवलपुरको पहाडी क्षेत्रबाट अहिले दैनिकजसो करिब १० क्विन्टल तरुल कावासोतीमा मात्रै आउने गरेको कावासोतीमा तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आएका व्यवसायी लालबहादुर सारुले बताए । कावासोतीसहित दलदले क्षेत्रमा समेत सोही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको उनले बताए । नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको उनको भनाइ छ । आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिकरूपमा पोखरा र काठमाडौंमा पठाउने गरेको सारुले बताए ।
दैनिकजसो किसानले ल्याएको तरुल बिक्रीमा समस्या नभएको र सबै खपत हुँदै आएको उनले बताए । सारुका अनुसार किसानले अहिले प्रतिकेजी रु ४५ सम्म बुझ्ने गरेका छन् । आफूहरूले बाहिरी जिल्ला पठाउँदा भने ढुवानीसहित सबै लागत जोडेर मूल्य प्रतिकेजी रु ७० देखि रु ८० सम्म पर्ने गरेको सारुले बताए । नेपाली समुदायमा माघेसङ्क्रान्तिमा तरुल, सखरखण्डसँगै चाकु, सेलरोटीलगायतका परिकार खाने प्रचलन रहेको छ ।