ललितपुर : केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप बुधबार सम्पन्न हुँदै गर्दा शहीद स्मारक ए डिभिजन लिग फुटबल आगामी शुक्रबार सुरु हुँदैछ।
प्रतियोगितामा फाइनलमा स्थान बनाएको सातदोबाटो युथ क्लबका कप्तान सुदीप गुरुङ यो प्रतियोगिता ए डिभिजन लिग फुटबल खेल्नका लागि अभ्यास गर्ने मौका भएको तर्क गर्छन्। ‘यसबाट हामीले सहभागी सात क्लबको अवस्था बुझ्ने मौका पायौँ’, उनले भने, ‘कुन खेलाडीको स्तर कस्तो छ भन्ने बुझ्यौँ। यो प्रतियोगिता एउटा अवसर नै हो।’
आयोजक टोली केपी ओली फुटबल क्लब सहित ’ए’ डिभिजनका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, न्युरोड टिम एनआरटी क्लब , चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथ क्लब र जावालाखेल युथ क्लबले यो प्रतियोगितामा भाग लिए। नकआउट र सेमिफाइनलका खेल सकिएर अब उपाधि भिडन्त मात्र बाँकी छ।
गत सिजनको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र सातदोबाटो क्लब फाइनलमा पुगेका छन्। दोस्रो सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसीलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो। सातदोबाटो त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनल स्थान बनाउन सफल भएको हो। मच्छिन्द्र चर्च ब्वाइज क्लबलाई हराएर अन्तिम चारमा पुगेको हो। नेपाल पुलिसको चुनौतीलाई पन्छाउँदै सातदोबाटो अन्तिम चारमा पुगेको थियो।
मच्छिन्द्र क्लबका सचिव किरण मर्हजन केपी ओली कप फुटबल प्रतियोगिता फुटबल खेल्नेका लागि राम्रो अवसर भएको बताउँछन्। ‘विभिन्न प्रतियोगिता एकै पटक खेलिरहँदा खेलाडी इन्जुरी हुने सम्भावना रहन्छ। तर राम्रो प्रतियोगितामा खेल्न छोड्नु पनि त भएन नि!’, उनले भने, ‘ यसले ए डिभिजन लिगको तयारीमा पनि त राम्रो भूमिका खेल्छ।’
प्रतियोगितामा सेमिफाइनलमा पराजित आर्मी क्लबका कप्तान भरत खवास पनि केपी ओली कप , ए डिभिजन लिगको राम्रो तयारी गर्ने मौका भएको बताउँछन्। नेपाल पुलिस क्लबका कप्तान राम बाजी, एनआरटी क्लबका कप्तान विक्रम धिमाल, जावलाखेल युथ क्लबका सीमन्त थापा पनि ओली कप फुटबलल ए डिभिजन लिग फुटबलको तयारीका लागि राम्रो अवसर भएको बताउँछन्।