काठमाडौं : एसिया कप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ। पाकिस्तान र श्रीलंकामा भदौ १३ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा भाग लिन नेपाली टोली गएराति पाकिस्तान प्रस्थान गरेको हो।
एसिया कपमा पहिलोपटक सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन्। समूह ‘बी’मा श्रीलंका बंगलादेश र अफगानिस्तान छन्।
नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ। नेपाल र पाकिस्तानबीचको पहिलो खेल यही भदौ १४ गते हुनेछ । भदौ १८ गते श्रीलंकामा खेल्ने दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले प्रतियोगिताको लागि आफू निकै सकारात्मक रहेको बताउँदै प्रतियोगितामा जित हासिल गर्ने विश्वास व्यक्त गरे।
यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए।