काठमाडौँ – गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ ।मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरु उपचारपछि घर फर्कन थालेका बताउनुभयो ।
प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी एक सय पाँच तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेका छन् । भूइचालोमा घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन् भने एक सय १० जना उपचाररत छन् ।
नौ सय १० घर र २१३ विद्यालयका भवनमा पूर्ण क्षति: यसैबीच, प्रहरी प्रधानकार्यालयले जाजरकोट भूकम्पमा अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण क्षति भएको छभने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको छ । जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति पुगेको छ । अहिलेसम्मको प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पुर्ण रुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।
यस्तै ३६६ वटा कक्षाकोठाहरु पुर्ण रुपमा ध्वस्त भएका छन् भने ४७६ वटा कक्षा कोठाहरुमा आंशिक रुपमा क्षति भएको छ । यस्तै विद्यालयका ४३ वटा शौचालयहरु, ११ वटा आईसिटी, १ पुस्तकलाय, ७ वटा ठाउँमा विद्यालयका घेरबारहरु र ४ वटा सोलार सिस्टमहरु पुर्ण रुपमा ध्वस्त भएका छन् ।