कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि आज फाइनल खेल हुँदैछ । कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा हुने प्रतियोगिताको फाइनल खेल त्रिभुवन आर्मी र चर्च व्वाईजका बीच हुँदैछ ।
बुधबार भएको पत्रकार सम्मेलनमा त्रिभुवन आर्मी र चर्च व्वाईजका कप्तानले आ–आफ्नो टिमलाई उपाधि दिलाउन आफुले जानेको अनुभव र सिपको प्रयोग गरी उपाधि हात पर्ने दावी गर्नुभयो।
त्रिभुवन आर्मीका कप्तान भरत खवासले आफुले राष्ट्रिय खेलदेखि लिग हुँदै ‘ए’ डिभिजनका खेल खेलेको र आफ्नो टिमको कडा प्रदर्शन गर्ने बताउनुभयो । आफ्नो टिममा दुई जना राष्ट्रिय खेलाडी र अन्य स्थानीय खेलाडीहरु भएकोले उपाधि हात पार्ने खवासले विस्वास व्यक्त गर्नुभयो । त्रिभुवन आर्मीका कोच आदर्श मल्लले आफ्नो पहिचान नभुल्ने बताउनुभयो। ‘खेलमा रफ हुँदैन,’ उहाँले भन्नुभयो। ‘अनुशासनमा रहेर खेल हुन्छ ।’ उहाँले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजकसँगै व्यवस्थापक टिमलाई समेत धन्यवाद दिनुभयो ।
यस्तै चर्च व्वाईजका कप्तान विकु राई पनि आफुले उपाधि लिनेमा ढुक्क हुनुहुन्छ । राई आफ्नो टिममा युवा खेलाडी भएकाले उपाधी जित्नेमा विस्वस्त रहको बताउनुहुन्छ । ‘सबै एउटै उमेर समूहका खेलाडी छन् त्यसैले आफुले भनेजस्तो र सोचेजस्तो खेल हुने विस्वास छ,’ राईले भन्नुभयो । चर्च व्वाईज कै कोच रुविन राईले प्रतियोगिताको उपाधि लिनकै लागि भने आफुहरु नआएको बताउँदै भाग्य र मेहनतले दिएसम्म आफ्नो टिमले फाइनलसम्म पुर्याउनु नै ठुलो उपलब्धि रहेको बताउनुभयो । ‘अहिले सबै स्थानीय खेलाडीहरु छन् ‘बाहिरी खेलाडीहरु छैनन् ।’ उहाँले भन्नुभयो, ‘अहिलेको पुरै नयाँ टिम रहेको र भविष्यमा यी टिमले नै देशकै उत्कृष्ट खेलाडी बनाउने मेरो सपना हो ।’ राईले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजकसँगै व्यवस्थापक टिमलाईसमेत धन्यवाद दिनुभयो ।

प्रतियोगिता सुरु भएको पाँचौ दिनमा भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौंले दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई ४—१ गोलको अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी फाइनल पुगेको हो भने प्रतियोगिता सुरु भएको तेस्रो दिनमा भएको खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई ३—० ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैंया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिनुभयो ।



















